मन फटाउँदै दम्पत्ती,एउटै घरको कोठामा छुट्टै ‘भान्सा’



हेटौंडा,(नेस) ।
पछिल्ला वर्षहरुमा मकवानपुरमा पतिपत्नीबीच सम्बन्ध विच्छेद गर्नेको संख्या निकै बढेको पाइएको छ । सँगै मर्ने बाँच्ने बाचासहित वैवाहित सम्बन्ध जोडेकाहरु केही वर्ष अन्तरालमै सम्बन्ध विच्छेद गर्न अदालत पुग्ने गरेका देखिएका हुन् ।|

जिल्ला अदालत मकवानपुरमा परेको निवेदनले पछिल्लो वर्ष सम्बन्ध विच्छेदको डरलाग्दो अवस्था देखाएको छ । जिल्ला अदालत मकवानपुरमा गत आर्थिक वर्ष २०७३÷७४ मा दर्ता भएका विभिन्न किसिमका मुद्दामध्ये अंश मुद्दापछि सबभन्दा बढी सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको देखिएको छ ।

एक वर्ष अवधिमा मकवानपुरका दुई सय ८६ वटा सम्बन्ध विच्छेदको मुद्दा दर्ता भएको छ । जसमा दुई सय २८ जोडीको मुद्दा फैसला गरिसकिएको छ भने ५८ वटा मुद्दा फैसला हुने क्रममा छन् । जिल्ला अदालतमा गत वर्ष सबभन्दा बढी पारिवारिक मुद्दामा दुई सय ९९ वटा अंश मुद्दा परेको थियो ।

अंशमुद्दा, सम्बन्ध विच्छेद, नाता कायम, बहुविवाह, मानाचामल गरी जम्मा छ सय ५४ वटा मुद्दा दर्ता भएको अदालतका से्रष्तेदार अनन्तराज मरासिनीले जानकारी दिए । जम्मा पारिवारिक मुद्दामध्ये चार सय पाँच वटा मुद्दा फैसला भइसकेको छ भने दुई सय ४९ वटा मुद्दा फैसला बाँकी छ ।

प्रेम विवाह गर्ने जोडीले नै बढीजसो सम्बन्ध विच्छेद गर्ने गरेको स्रेष्तेदार मरासिनीको भनाइ छ । ‘प्रेम विवाह गर्ने कति जोडीले सम्बन्ध विच्छेद गरे भन्ने आधिकारिक तथ्यांक चाहिँ छैन । तर, उनीहरुसँग अनौपचारिक कुराकानी हुँदा धेरैजसोले प्रेम विवाह गरेको बताएका छन्,’ उनले भने ।

पति विदेश गएपछि पत्नीले अर्कोसँग सम्बन्ध राख्ने, सानै उमेरमा प्रेमविवाह गर्नेजस्ता कारणले बढीजसो सम्बन्ध विच्छेद हुने गरेको मरासिनीको भनाइ छ । अन्तरजातीय विवाह गर्ने पतिपत्नीको पनि धेरैजसो सम्बन्ध विच्छेद भएको देखिएको उनले बताए । सम्बन्ध विच्छेद गर्नेहरु बढीजसो २० देखि ४० वर्ष उमेर भित्रका रहेको अदालतले जनाएको छ । ५० वर्ष उमेरसम्मकाले पनि सम्बन्ध विच्छेद गरेको पाइएको मरासिनीले बताए । सम्बन्ध विच्छेदका मुद्दाहरु बढीमा ६ महिनासम्ममा टुंगिने गरेको छ ।

परिवारका एक सदस्यले अर्का सदस्यलाई मुद्दा हाल्ने प्रचलन बढेको देखिएको छ । यसले पारिवारिक बेमेलको अबस्थालाई संकेत गरेको छ । बाबुु, छोरा, पत्नी, दाजुभाइ, छोरी, नाति, नातिनी, बुहारीलगायतले मुद्दा दायर गरेका हुन् ।
आफ्ना चित्त नबुझेका कुराहरु एकआपसमा छलफल गरेर भन्दा पनि अदालतमा गएर न्याय लिने क्रम बढ्दै गएको देखिन्छ । यस्तो मुद्दा परिवारका एक सदस्यले अर्का सदस्यलाई विभिन्न कारणबाट ‘दोषी’ देखाएर दायर गरिएका हुन् ।
जिल्ला अदालत मकवानपुरमा मुद्दाको रेकर्डअनुसार परिवारका एक सदस्यले अर्का सदस्यलाई हालेका मुद्दा सबभन्दा बढी छन् । बिहे भएपछि छोराबुहारीले त्यही घरको एउटा कोठामा छुट्टै भान्सा बनाएर भात पकाउन थालेपछि चिनेजानेका र छरछिमेकहरु भन्छन्– बाक्लो दाल खान थालेछौ, राम्ररी बस्नू । यसरी भान्सा अलग गर्नु कतिपयका लागि बाध्यता होला, कतिपयको सोख त कतिपयको देखासिकी ।

बदलिँदो विश्व परिवेश, केही पढेर वा जानेर नोकरीका लागि बाहिरिने प्रवृत्ति र बाहिरी संसारमा रमाउने चाहनासहित दाजुभाइबीच सम्पत्ति जोड्ने प्रतिष्पर्धालगायत कारण मकवानपुर क्षेत्रमा मनसँगै परिवार टुक्र्याउनेहरुको संख्या दुई वर्षबीच निकै बढेको देखिन्छ ।

आर्थिक वर्ष २०७१÷०७२ मा हेटौंडा नगर क्षेत्रमा दाजुभाइ र दिदीबहिनीबीच संगोलमा बस्ने चाहने भन्दै सरकारी निकायको अनुमति लिएका परिवारको संख्या केवल ३९ मात्र देखियो । जबकि, मकवानपुरका ग्रामीण क्षेत्रमा आफ्ना सम्पत्ति संगोलमा दर्ता कायम गर्नेहरु २७ परिवारमात्र थिए ।

उक्त संख्या आर्थिक वर्ष २०७२÷०७३ मा निकै घटेको देखिन्छ । उक्त अवधिमा थाहा नगर क्षेत्रका १ सहित ३१ परिवारले संगोलमा बस्न मञ्जुरी जनाउँदा ग्रामीण क्षेत्रका त्यस्ता परिवारको संख्या २७ बाट खुम्चिएर ५ मा सीमित रहेको देखियो ।
आव २०७१÷०७२ मा हेटौंडा र थाहा नगर क्षेत्रमा १ सय ८६ जनाले पैतृक सम्पत्तिको अंशवण्डा गर्दा उक्त संख्या गत आर्थिक वर्षमा निकै बढेर ५ सय ९ पुगेको थियो ।

ग्रामीण क्षेत्रमा अंशवण्डा गर्ने परिवारको संख्यामा पनि निकै बढोत्तरी देखिन्छ । आव २०७१÷०७२ मा ग्रामीण क्षेत्रका १ सय ५८ परिवारले जिल्ला मालपोत कार्यालयमा अंशवण्डा गर्दा उक्त संख्या गत आवमा झण्डै दोब्बर बढेर २ सय ९७ पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्