डोटीमा पहिरोको जोखिम



 

विमल विष्ट, डोटी
डोटीलगायत यहाँका पहाडी जिल्लाहरूमा जथाभावी सडक काटिँदा पहिरोको जोखिम बढेको छ। गाउँमा सडक पुर्याउने होडबाजीले सम्भाव्यता अध्ययन तथा सर्वेक्षणविना नै खनिएका सडकले यहाँका पहाडी जिल्लामा पहिरोको जोखिम निम्त्याउन थालेको छ। यस्ता सडकका आसपासका बस्तीहरूमा पहिरोको जोखिम बढेको स्थानीयबासी बताउँछन्। लाखौं रकम खर्च गरेर निर्माण गरेका यहाँका ग्रामीण सडकहरू वर्षाद्को समय पानीले चिराचिरा हुनुका साथै आसपासका बस्तीहरू समेत विस्थापितको खतरमा परेको डा. केआईसिंह गाउँपालिका–५ केदारगाउँका स्थानीय तथा सब–ओभरसियर सुरेन्द्रविक्रम शाहीले बताउनुभयो। उहाँले भन्नुभयो– ‘जथाभावी डोजर प्रयोग गरेर विनाअध्ययन र मापदण्डका सडक खनिएका छन्, सडक खन्दा डोजरले जमिन नै हल्लाएको छ, सानो पानी पर्दा समेत पहिरो आउने तथा सडकहरू बगाएर चिरचिरा हुने गरेका छन्।’

स्थानीयबासीका अनुसार डोटीलगायत यहाँका पहाडी जिल्लामा निर्माण भएका कैयौं ग्रामीण सडकहरू डोजर अप्रेटरको डिजाइन र नक्सांकले निर्माण हुन थालेका छन्। सडक निर्माणमा चलेको होडबाजीले यहाँका गाउँगाउँमा गाडी सुविधा पुगे पनि थुप्रै ठाउँमा पहिरोको जोखिम बढेको एमाले नेता यज्ञराज जोशीले बताउनुभयो। ‘सडक खन्ने होडबाजीले गाउँमा यातायातको सुविधा त पुग्यो तर सुविधासँगै काल र जोखिम पनि बढाएको बताउँदै एमाले नेता जोशीले भन्नुभयो– ‘सडक निर्माण गर्दा मापदण्ड अपनाउनैपर्छ, विनामापदण्डका सडक खारेज हुनुपर्छ।’ विगतमा जिल्ला विकास समिति तथा गाउँ विकास समितिको बजेटले डोटीमा निर्माण गरिएका सडकको सर्वेक्षण जिल्ला विकासका प्राविधकले आफूबाहेक अन्य कार्यालयका प्राविधिकलाई गर्न नदिँदा समस्या भएको स्थानीयको आरोप छ। स्थानीयबासीका अनुसार ग्रामीण सडक निर्माण गरिएका डोटीका कपल्लेकी, लडागडा, दुर्गामाण्डौ, रानागाउँ, जिजोडामाण्डौ, तिखातर, जोरायललगायतका क्षेत्रमा रहेका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेका छन्। यी क्षेत्रका सडक बस्तीमाथि तथा तलबाट खनिएकाले पहिरोको उच्च जोखिम बढेको स्थानीयको आरोप छ। प्राविधिक र वातावरणीय प्रभाव मूल्यांकन नगरिकनै खनिएका सडकले यहाँका गाउँमा विकाससँगै विनाश निम्त्याएको जोरायल गाउँपालिका–३ का स्थानीय हेमप्रकाश मल्लले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्