नेपाली कांग्रेसमा गुट परिवर्तनको रिसः पुर्व राज्यमन्त्री र पार्टी सचिव सहितका २१ नेता कार्वाहीमा



धनवीर दाहाल, रुकुम ।
नेपाली कांग्रेस रुकुमले स्थानीय तह निबार्चनमा आफ्ना उम्मेदवारलाई हराउन मुख्य भुमिका पार्टी भित्रैबाट खेलिएको भन्दै त्यस्तो भुमिका निर्वाह गरेको आरोपमा बर्तमान सांसद तथा पुर्व सहरी विकास राज्यमन्त्री मिठ्ठु मल्ल र जिल्ला पार्टी सचिव जनक चन्द सहित जिल्ला स्तरका नेता तथा कार्यकर्ता गरी २१ जनालाई कार्वाही गरेको छ ।

स्थानीय निर्वाचन समीक्षाका लागि बसेको स्थानीय तहका उम्मेदवार, क्षेत्रीय कार्य समिति, भातृ संघ संगठनका पदाधिकारीसहितको भेलाले वर्तमान सांसद तथा पुर्व राज्यमन्त्री मल्लसहित ७ जनालाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्कासन गरेको छ भने १४ जनालाई थप स्पस्टीकरण मागेको छ ।

जिल्ला पार्टीले गठन गरेको अनुशासन विभागको सिफारिसमा पार्टीको साधारण सदस्य समेत नरहने गरी सांसद मल्ल, जिल्ला सचिव जनककुमार चन्द, जिल्ला कार्यसमिति सदस्य विष्णुप्रकाश खडा, निर्वाचन क्षेत्र नम्वर १ का सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्य, टेकबहादुर पुन, बालकृष्ण भाटलाई पार्टीवाट निस्कासन गरिएको हो । पहिलो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीको हितविपरीत कार्य गरेको भन्दै गत जेठ ८ गते अनुशासन विभागले २५ जनालाई लिखित स्पष्टिकरण सोधेको थियो ।

तीमध्ये चार जनाले मात्रै लिखित स्पष्टीकरण दिएको र त्यो चित्तबुझ्दो भएकाले उनीहरुलाई सफाई दिएको अनुशासन विभाग संयोजक भीमबहादुर डाँगीले बताए । सांसद मल्लको सदस्यता खारेजीका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय भएको छ भने अन्य ६ जनाको जिल्ला कार्य समितिले नै सदस्यता खारेज गरिदिएको छ ।

सांसद मल्लको हकमा जिल्ला पार्टीले साधारण सदस्यता खारेज गर्न नमिल्ने भएकाले सदस्यता खारेजका लागि केन्द्रमा सिफारिस गरिएको र जिल्लामा रहेको पार्टीको सबै भूमिकाबाट निलम्बित गरिएको छ । थप स्पस्टीकरण सोधिएका १४ जनाले ३ दिन भित्र जिल्ला कार्य समितिलाई लिखित स्पष्टीकरण दिनुपर्ने छ । उनीहरुको स्पस्टीकरणको आधारमा आवश्यक कारबाही गर्ने निर्णय जिल्ला कार्यसमितिले गरेको छ । सांसद मीठु मल्ल १ नम्वर क्षेत्रीय सभापति सुरतजंग मल्ल, क्षेत्रीय प्रतिनिधि टेकबहादुर पुनलाई मुसीकोट नगरपालिकाका मेयरका उम्मेदवार महेन्द्र केसीलाई हराउनमा भूमिका खेलेको आरोप लगाइएको छ ।

यसैगरी जिल्ला सचिव जनक चन्दलाई बाँफिकोट गाउँपालिका १० नम्वर वडाध्यक्ष सहितका उम्मेदवारलाई हराएको आरोप छ । क्षेत्रीय प्रतिनिधि शिवलाल आचार्यलाई पार्र्टीको अनुशासन उललंघन तथा चौरजहारी नगरपालिकाका मेयरका उम्मेदवार बलवीर गोसाईलाई हराउन सहयोगी भएको आरोप छ । कांग्रेस जिल्ला सचिव भिमबहादुर खड्काले कार्वाहीको थालनी गरिएको बताए ।

सचिव खड्काले अझै पनि स्पष्टीकरण आउन सक्ने अथवा आत्मआलोचना गर्न सक्ने के हुन्छ त्यस बिषयमा पार्टीले अर्काे निर्णय गर्ने बताए । सांसद मल्लको हकमा पार्टी केन्द्रले जिल्लाको निर्णय अनुमोदन गर्ने उनले बिश्वास व्यक्त गरे । उनले भने “कतिपय साथीहरुको आत्मआलोचना सहितको स्पष्टीकरण आयो भने पार्टीले सोच्न सक्छ तर सांसद मल्लले भने कुनै पनि हालतमा पार्टीमा रहने खालको काम नगरेको उनले दावी गरे । पार्टी सदस्यता नरहेपछि सांसद पद पनि रहने कुरै छैन” उनले थपे ।

मैले धार परिवर्तन गरेको रिस पोखिएको हो ः सांसद मल्ल
तर पुर्व राज्यमन्त्री एवं सांसद मिठ्ठु मल्लले आफुलाई निराधार आरोप लगाइएको बताएकी छन् । माओबादीलाई सहयोग गर्यो भन्नु निराधार कपोकल्पीत र तथ्यहिन आरोप भएको भन्दै उनले सो कार्वाही गर्नेवालाहरु नै कार्वाही गरिमाग्ने खालका भएको बताइन् ।

माओबादीलाई सहयोग गरेको वा जनार्दन शर्माले भनेको आफुले मान्ने गरेको कुनै प्रमाण भए देखाउन चुनौती दिँदै उनले त्यस्तो प्रमाण सार्वजनिक गर्न चुनौती दिइन । पहिलाको रामचन्द्रको धारबाट पार्टी सभापति शेरबहादुर देउवाको धारमा गएकोले त्यही रिस आफुलाई पोखेको उनले बताइन् ।

जिल्ला सभापति लगाएत केही मान्छेहरु आफुलाई सिध्याउन पहिलै देखी खटिएर लागेको र अहिले आएर कार्वाहीको नाटक गरेको उनको भनाई छ । आफु कुनै पनि हालतमा बिचलित नभएको र पार्टी केन्द्रले आफुलाई न्याय गर्ने उनले बताइन् । हावाको भरमा जे पायो त्यही गर्ने अधिकार कसैलाई नभएकोले ति कार्वाही गर्ने भन्नेहरुलाई नै कार्वाही गर्नुपर्ने उनको तर्क छ ।

‘कसले जनार्दन शर्मासँग हातपाउ जोडेर छोरालाई जागिर लगाएको छ त्यो सबै मलाई थाहा छ’ उनले भनिन् “जसले जनार्दन शर्माको पाउ मलिरहेको छ उसलै मलाई जनार्दन शर्माले भनेको मानिरहेकी छे भन्दै हिड्छ ।”

 

प्रतिक्रिया दिनुहोस्