खाल्टा नपुर्दा दुःखद घटना



खाल्टोमा जमेको पानीमा नुहाउन गएका चार बालिका सोही पानीमा डुबेर मृत्यु भएको खबर सार्वजनिक भएपछि आममानिसको चासो उक्त घटनाका बारेमा बढेको छ । रौतहटको गरुडा नगरपालिकामा भएको उक्त घटनापछि अहिले सो क्षेत्र शोकमा डुबेको छ । सडक विभागले सडक विस्तार गर्ने क्रममा खनेको खाल्टो समयमा नै नपुर्दा उक्त घटना हुन पुगेको भन्दै स्थानीयले सडक विभाग र सडक निर्माणको ठेक्का लिएका ठेकेदार कम्पनीलाई दोषी ठहर गरी कारबाहीको मागसमेत गरेका छन् । एकै परिवारका ४ बालिकाको मृत्यु भएपछि सरकारलाई गम्भीर बन्न बाध्य बनाएको छ ।

राजधानीमा पनि सडक निमार्णका लागि खनेको खाल्टोमा परेर एक बालिकाको मृत्यु भएपछि स्थानीय स्तरबाट उक्त घटनाको आलोचना मात्रै भएन, सरकारले तत्कालै राजधानीका खाल्टाखुल्टी पुर्न बाध्य हुनुपरेको थियो । रौतहटको उक्त घटनापछि स्थानीयले दोषीमाथि कारबाही गर्नुपर्ने माग गरे पनि स्थानीय प्रशासन भने मुकदर्शक भएर बसेको छ । घटनापछि सडक निर्माणको ठेक्का लिएको दुर्गा कन्स्ट्रक्सनमाथि कारबाही प्रक्रिया अगाडि बढाउनसमेत कुनै पहलकदमी नचालेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । मुलुकमा यस्ता घटना हुनु दुःखद पक्ष हो । सडक निर्माणको लागि खनिएको खाल्टो नपुर्ने ठेकेदार कम्पनीलाई कारबाही गरी मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिने व्यवस्था मिलाउनेतर्फ सरकारले तत्कालै ध्यान दिनुपर्छ ।

उक्त घटनापछि सरकारले मृतकका परिवारलाई सहानुभूति दिने कामसमेत नगरेको भन्दै स्थानीयले पोखेको आक्रोशलाई स्वाभाविकरूपमा लिनुपर्ने अवस्था सिर्जना हुनुलाई दुःखद पक्षको रूपमा मान्नुपर्छ । सरकारले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिएर उनीहरूको दुखेको घाउमा मलहम लगाउनुपर्छ । राज्यले यस्ता लापरबाही गर्नेमाथि कडा कारबाही गर्ने कानुन बनाउनुपर्छ । साथै जो–कोही भए पनि लापरबाही गरेको ठहर भएमा उनीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । होइन भने यस्ता घटना भइरहने तर दोषी कारबाहीको दायरामा नआउने प्रवृत्ति हाबी नहोला भन्न सकिन्न । त्यसकारण यस्ता कुरामा सम्बन्धित निकायको बेलैमा ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्