पुरुषोत्तम र नबिता विजेता



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य र नेपाल प्रहरीकी नबिता श्रेष्ठले ९औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ उपाधि जितेका छन्।

शनिबार भएको पुरुष सिंगल्स फाइनलमा पुरुषोत्तमले प्रहरीका स्यान्टु श्रेष्ठलाई पराजित गरेका हुन्। स्यान्टु पूर्वाञ्चलमा भएको ७औं राष्ट्रिय खेलकुदको टेबलटेनिस पुरुष सिंगल्सतर्फ १६ वर्षको उमेरमै राष्ट्रिय च्याम्पियन बनेर हलचल मचाएका युवा खेलाडी हुन्। उनले कडा संघर्ष गरे पनि पुरुषोत्तमले ७–११, ११–९, १०–१२, ११–९, ११–९ र ११–८ को सेटमा खेल जिते। एपीएफका अमरलाल मल्ल र पूर्वराष्ट्रिय च्याम्पियन प्रहरीका दीप साउनले तेस्रो स्थानमा चित्त बुझाए।

यसअघि सोही स्पर्धाको महिलामा ६ पटककी राष्ट्रिय च्याम्पियन नबिता पहिलो भइन्। सीसीआरसीकी सोनु थापा मगर दोस्रो तथा त्रिभुवन आर्मी क्लबका रविना महर्जन र दीक्षा तामाङ तेस्रो भएका थिए। दुवै समूहमा पहिलो हुनेले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ५⁄५ हजारका दरले नगद पुरस्कार पाए।

भेट्रान ५० वर्षमाथि पुरुष सिंगल्समा पन्नाकाजी शाक्यले फाइनलमा शम्भु बास्तोलालाई ३–० को सोझो सेटमा हराउँदै पहिलो भए। ६० वर्षमाथि पुरुष सिंगल्समा उदयमोहन श्रेष्ठ पहिलो भए। उनले फाइनलमा गोवद्र्धन श्रेष्ठलाई २–० को सीधा सेटमा पाखा लगाए। ४० वर्षमाथि पुरुष सिंगल्स फाइनलमा उमेश मानन्धरले राजेन्द्र वज्राचार्यलाई ३–२ ले हराउँदै पहिलो भए।

बहिरातर्फ पुरुष सिंगल्स फाइनलमा भरत रोकायाले सन्जित श्रेष्ठलाई २–१ ले पाखा लगाए। पुरुष ह्विलचेयर सिंगल्समा केशव थापाले डिगमसिंह चेम्जोङलाई ४–२ ले पराजित गर्दै स्वर्ण जिते। शारीरिक अपा·को ब्वाइज ‘स्टेन्डिङ’ मा नवराज सोतीले दीपक नकललाई ३–१ ले पराजित गर्दै स्वर्ण हात पारे। सोही स्पर्धाको गल्र्समा निरुता मगर पहिलो भइन्। निरुताले फाइनलमा आशा हमालको चुनौती ३–१ ले समाप्त पारिन्।

 

प्रतिक्रिया दिनुहोस्