काठमाडौंलाई हिलो–धूलोमुक्त बनाउँछुः बलायर



 

नेपाल समाचारपत्र
काठमाडौं
भौतिक योजना तथा यातायातमन्त्री वीरबहादुर बलायरले राजधानी काठमाडौंलाई हिलो र धूलोमुक्त बनाउने बताउनुभएको छ। नागरिकहरूको दैनिकीसँग जोडिएको सडकमा धुलो र हिलोको कारण जनजीवन कष्टर भएको बताउँदै उहाँले सरकारले पहिलो प्राथमिकता राखेर राजधानीलाई हिलो र धूलोमुक्त बनाउने बताउनुभएको हो।

मेलम्ची खानेपानी आयोजनाले पाइप विस्तारको क्रममा सडक खन्ने र निर्माण कार्यमा भएको ढिलासुस्तीप्रति असन्तुष्टि जनाउँदै मन्त्री बलायरले खानेपानी आयोजनाले बागमती नदीको पानी पम्प गरेर भए पनि पाइपलाइन विस्तारको काम सम्पन्न गरेर सडकलाई निर्माण गर्नुपर्ने बताउनुभयो। मेलम्ची खानेपानी आयोजनाले पाइपलाइन विस्तारको क्रममा राजाधानीका विभिन्न स्थानमा पानी हालेर टेस्ट गर्ने काम गर्न पानीको अभाव रहेको बताउँदै आएको छ। उहाँले अब नागरिकको दैनिकीसँग जोडिएको सडक निर्माणमा हुने ढिलासुस्ती हटाउने बताउनुभयो।

उहाँले वागमती नदी, धोवी खोला र विष्णुमति खोलामा निर्माणाधीन करिडोर निर्माणको काम समयमा नै सम्पन्न गर्नुपर्ने बताउँदै करिडोर आयोजना समयमा सम्पन्न गर्दा राजधानीको ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताउनुभयो। ‘राजधानी काठमाडौंमा जनताले महसुस गर्ने गरी यातायात क्षेत्रमा सुधार हुन्छ’, मन्त्री वलायरले भन्नुभयो– ‘सडक र यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्नका लागि रात–दिन नभनी लागेको छु।’

शनिबार राजधानीमा रोयल ए–वान इन्भेस्टमेन्ट प्रालिद्वारा सञ्चालित रोयल ए–वान फास्टफुड ग्रुपको चौथौ वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री बलायरले देशभर कुनै पनि सडक व्यवस्थित नरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘वर्षेनि सडक निर्माण भएको छ, तर गुणस्तरीय सडक निर्माण हुनसकेको छैन, मैले प्राविधिकहरूलाई निर्माण भएर एक वर्षमा नभत्किएको दुई वटा सडकको नाम भन्न आग्रह गरे, तर सक्नुभएन।’ करोडौं रुपियाँ लगानी गरेर सरकारले सडक निर्माण गरे पनि निर्माण सम्पन्न भएर सञ्चालनमा नआउँदै भत्किने परिपाटीको अन्त्य गर्नका लागि आफू लाग्ने बताउनुभयो।
देशप्रतिको समर्पण जगाउन नसक्दा निर्माण क्षेत्रमा विकृति बढेको मन्त्री बलायरले बताउनुभयो।

प्रालिका अध्यक्ष नवीन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा रामेछाप खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले इच्छाशक्ति भए स्वदेशमा पनि राम्रो अवसर रहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘आपसी एकता कायम गरेर अगाडि बढ्न सके स्वदेशमा पनि राम्रो आम्दानी गर्न सकिन्छ, विदेश नै जानुपर्छ भन्ने बाध्यता छैन।’

प्रतिक्रिया दिनुहोस्