जयपृथ्वी राजमार्ग भगवान् भरोसाको यात्रा



 

विनोदसिंह विष्ट, बैतडी
तडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने जयपृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन्। भीर अनि साँघुरो सडक तथा ठूलाठूला सवारीसाधन चल्ने जयपृथ्वी राजमार्गको बैतडी र बझाङको विभिन्न ठाउँमा पहिरोको जोखिम रहेको रहेको छ। यसका साथै धेरै ठाउँमा खोलामा पुल नहुँदा सडकमा माटो जम्मा भई भिरालो हुनका साथै पहिरो गएको ठाउँमा पनि सडक हिलाम्ये भएको छ।

जयपृथ्वी राजमार्गमा सवार यात्रुहरू डर तथा त्रासमा यात्रा गर्न बाध्य भएका छन्। सडक निकै नै डरलाग्दो रहेकाले डरैडरमा चैनपुरबाट खोडपेसम्म पुगेको पवित्रा राईले बताउनुभयो। ‘साँघुरो सडकमा ठूलो गाडीमा यात्रा गर्दा कतिखेर खोडपे पुगौं भयो’, राईले भन्नुभयो– ‘वर्षाको समयमा त निकै नै जोखिम रहेको छ।’ पहिलोपटक जयपृथ्वी राजमार्गमा यात्रा गरेको बताउँदै पवित्राले सधैं यो सडकमा यात्रा गर्नेले त भगवान् भरोसामा हिँड्नुपर्ने बताउनुभयो।

जयपृथ्वी राजमार्गअन्तर्गत पर्ने बैतडीको झौलेक, ज्यापुलगायत बझाङको जाल्याबगर, देउरा, देउलेक, रायल, बागथला, नारुगाडलगायतका ठाउँमा बेलाबेलामा खसिरहने पहिरोले राजमार्ग अवरुद्ध हुने गरेको छ। यसका साथै सडक माथिबाट खस्ने पहिरोले कतिखेर अर्को दुर्घटनाको पनि जोखिम रहेको छ।

बझाङलाई राजधानी काठमाडौं, धनगढी, महेन्द्रनगर जोड्ने एक मात्र राजमार्ग रहेकाले यो राजमार्ग अवरुद्ध हुँदा समस्या हुने गरेको छ। ‘वर्षायाम भएकाले कतिखेर के हुन्छ थाहा छैन’, जयपृथ्वी राजमार्गमा सवार एक यात्रु मुना राईले भन्नुभयो– ‘भीरको बाटोमा बाहिर हेर्न न निकै डर लागेको छ, बसभित्र समेत डर लागिरहेको छ, सडक निकै साँघुरो रहेछ।’

‘कतिखेर गन्तव्यमा पुगिने हो छिटो गन्तव्य पुगे हुन्थ्यो’ –उहाँले भन्नुभयो। पहिरोका कारण असारदेखि हालसम्म १२ पटक जयपृथ्वी राजमार्ग अवरुद्ध भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेलाबेलामा जाने पहिरोले यात्रुले हैरानी तथा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो। ‘बेलाबेलामा पहिरो जाने भएकाले सडक डिभिजन कार्यालयसँग समन्वय गरी एउटा डोजर तयारी अवस्थामा राखेका छौं’, उहाँले भन्नुभयो– ‘सडकको अवस्था खतरापूर्ण नै छ, सडक माथिबाट ढुंगा खसिरहन्छ।’

कमजोर भौगर्भिक अवस्था र भिरालो भूगोलका कारण जाने पहिरो तथा राजमार्गसँगै समानान्तर ढंगले निर्माण गरिएका विभिन्न शाखा सडकबाट बगेर आउने ढुंगा माटोका कारण वर्षात्मा बढी अवरुद्ध हुने गरेको डिभिजन सडक कार्यालयले जनाएको छ। शाखा सडकबाट आएको माटो र ढुंगा थुप्रिएर बढीजसो राजमार्ग बिग्रने गरेको डिभिजन सडक कार्यालयका प्रमुख ललितजंग खनालले बताउनुभयो।

बैतडीको खोड्पेदेखि बझाङको चैनपुरसम्म १ सय ८ किलोमिटर लम्बाइ रहेको सडकलाई विश्व बैंकको सहयोगमा ५ वर्षअघि कालोपत्रे गरिएको थियो। कालोपत्रे गरिएको अधिकांश ठाउँमा उप्किएर बाटो कच्चीजस्तै बनेकाले यात्रुलाई झन् हैरानी खेप्नुपरेको छ। यसैबीच जयपृथ्वी राजमार्गलगायत सुदूरपश्चिमका दशरथचन्द राजमार्ग र महाकाली राजमार्गमा दुर्घटनाको बढ्दै गएकाले विश्व बैंकको करिब २० करोड सहयोगमा स्टिलबार (स्टिल क्रस बेरियर) लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्