पहिरोबाट ६ को मृत्यु,१५० घर उच्च जोखिममा



सिर्जना पन्त, बागलुङ ।

बागलुङ जिल्लाको पश्चिम क्षेत्रमा शुक्रबार गएको छुट्टाछुट्टै पहिरोमा पुरिएर ६ जनाको मृत्यु भएको छ। बिहीबारबाट परेको अविरल वर्षाका कारण निसीखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाको विभिन्न स्थानमा गएको पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यु हुनेमा निसीखोला गाउँपालिका देवीस्थान–६ का एकै परिवारका ६८ वर्षीय मनिमान छन्त्याल, उनकी पत्नी ६३ वर्षीया नन्दिकला छन्त्याल, बुहारी २२ वर्षीया बिन्दु छन्त्याल र छोरी १८ वर्षीया गीता छन्त्याल रहेका छन्।

त्यस्तै, देवीस्थान–१ की ७५ वर्षीया खगिसरा सिंजाली र ढोरपाटन नगरपालिका–५ पाखापानीका अन्दाजी ५४ वर्षीया ओम प्रकाश कामी (विक)को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी अनिल खड्काले बताउनुभयो। खड्काले पाखापानीको पहिरोमा पुरिएका कामीकी छोरी र पत्नीको जीवितै उद्धार गरिएको बताउनुभयो।

उहाँले देवीस्थानका अधिकांश बस्तीबीच भागबाट चर्किएको हुँदा जुनसुकै समयमा पनि पहिरो खस्न सक्ने भएकाले उनीहरूलाई सुरक्षित स्थानमा सारिएको बताउनुभएको छ। देवीस्थानका अन्य सल्लाबोट, देउराली टोल, गौखर्क र नुनथालाका १ सय ५० घरधुरी पहिरोको उच्च जोखिममा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्