राष्ट्रिय च्याम्पियन संरक्षक पहिलो



 

नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय च्याम्पियन संरक्षकभूषण वज्राचार्य प्रथम एएनएलटीए⁄जेटीआई राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा बिहीबार पहिलो भएका छन्।

संरक्षकभूषणले यु–१८ ब्वाइज सिंगल्सतर्फ उपाधि जितेका हुन्। सातदोबाटोस्थिति टेनिस कोर्टमा उनले राउन्ड रोविन लिगको अन्तिम खेलमा निनवाम राईलाई ६–० र ६–० ले ह्वाइटवास गरे। चार खेलाडी सहभागी उक्त स्पर्धामा संरक्षकभूषणले तीनै खेल जितेका छन्। सो स्पर्धामा प्रणव खनालले साम्राज्ञ कटवाललाई ६–० र ६–० को सीधा सेटमा हराउँदै दोस्रो स्थानमा रहेका थिए। उनले दुई खेलमा जित हात पारे भने एक खेलमा विजयी साम्राज्ञ तेस्रो भएका थिए।

यसै गरी यु–१४ गल्र्स सिंगल्सतर्फ प्रेरणा कोइराला पहिलो भइन्। उनले फाइनलमा सलोनी तामाङलाई ६–३ र ६–३ को सोझो सेटमा पाखा लगाइन्। त्यस्तै प्रतिद्वन्द्वी आदित सुवेदीबाट फाइनलमा वाकओभर पाएपछि सम्यकभूषणले उपाधि जित्न कसरत गर्नुपरेन। प्रतियोगिताअन्तर्गत यु–१२ गल्र्स सिंगल्सको फाइनलमा रायना शाहले ईशाश्रीको चुनौती ६–४ र ६–० ले समाप्त पारेर उपाधि जितिन्।

प्रतिक्रिया दिनुहोस्