सरकारी लक्ष्यअनुसार आर्थिक वृद्धिदर आधा कम हुने दाबी



नेपाल समाचारपत्र,काठमाडौं
काठमाडौं विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस) को एक प्रतिवेदनले आर्थिक वर्ष २०७४÷७५ मा आर्थिक वृद्धिदर ३ दशमलव ५४ मा सीमित हुने अनुमान गरेको छ। इन्स्टिच्युटले सार्वजनिक गरेको ‘नेपाल इकोनोमिक आउट लुक २०१६–१७’ ले चालू आवमा राष्ट्रिय नीतिमा कुनै परिवर्तन नभएको खण्डमा नेपालको वास्तविक प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनको वृद्धिदर ३ दशमलव ५४ प्रतिशतमा रही अर्को आर्थिक वर्षमा ३ दशमलव ७९ प्रतिशत पुग्ने अनुमान गरिएको हो।

केन्द्रीय तथ्यांक विभागले भने यसअघि नै आव २०७३÷७४ मा आर्थिक वृद्धिदर ७ दशमलव ५ प्रतिशत हुने अनुमान गरिसकेको अवस्थामा इन्स्टिच्युटले सो प्रतिवेदन सार्वजनिक गरेको हो। आईआईडीएसले ‘नेपाल इकोनोमी आउटलुक २०१६÷१७’ र ‘सेलेक्टेड एसेस अन नेपाली इकोनोमी’ नाम गरेका आफ्ना दुई प्रतिवेदन सार्वजनिक गर्दै सो अनुमान गरिएको थियो।

यसैगरी वैकल्पिक परिदृश्यमा अनुमान गरिए बमोजिम आव २०७४÷७५ मा चालू र पुँजीगत खर्चतर्फ क्रमशः ४६ दशमलव २७ प्रतिशत र १४ दशमलव ६८ प्रतिशत वृद्धि भएमा कुल गार्हस्थ उत्पादन त्यसै अनुरूप ३ दशमलव ५१ र ४ दशमलव शून्य ८ प्रतिशत रहने अनुमान गरिएको छ।

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णीम वाग्लेले सार्वजनिक गरेको प्रतिवेदनमा विद्युत्को नियमित आपूर्ति, राजनीतिक अवरोधमा कमी, सरकारी आय तथा पुँजीगत खर्चमा वृद्धि, भूकम्पपछिको पुनर्निर्माणमा भएको सुधार आदिले गर्दा यस्तो सफलता हासिल भएको प्रतिवेदनमा उल्लेख छ। अध्ययनले चालू आवमा ६ दशमलव शून्य ५ प्रतिशत मूल्य वृद्धि हुने र आउँदो आर्थिक वर्ष यो ६ दशमलव शून्य ३ प्रतिशतमा सीमित रहने पूर्वानुमान समेत गरिएको छ।

सरकारले मुद्रास्फीति ७ प्रतिशतमा सीमित राख्ने प्रक्षेपण गरेकोमा आउट लुकले यो विश्लेषण गरेको हो। त्यस्तै आव २०७३÷७४ मा कृषि क्षेत्रमा ५ दशमलव २९ प्रतिशत वृद्धिदर रहेको देखिएको छ। खाद्यान्न बालीमा भएको वृद्धि, अनुकुल वर्षा, कृषिमा भएको बजारीकरण, सिँचाइमा भएको विस्तार, मलजलको पर्याप्त उपलव्धता प्रयोग यसका प्रमुख कारण भएको आउट लुकमा उल्लेख छ।

कुल गार्हस्थ उत्पादनमा कृषिको २७ दशमलव ४ प्रतिशतको योगदान रहेको छ। त्यस्तै सेवामूलक क्षेत्रमा पनि ६ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर देखिएको छ। स्वदेशी उत्पादनमा भएको वृद्धि पर्यटकको बढ्दो आगमन, आयातमा भएको वृद्धि तथा व्यापारको वातावरणमा देखिएको सुधार नै यस क्षेत्रमा देखिएको सुधारका प्रमुख कारण रहेका छन्। सेवा क्षेत्रले कुल गार्हस्थ उत्पादनको ५१ दशमलव ५४ प्रतिशत हिस्सा ओगटेको छ।
औद्योगिक क्षेत्रले पनि आर्थिक वृद्धि दरमा सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदनले यस वर्ष सरकारी आय दोहोरो अंकले वृद्धि भएको देखाएको छ। यसको कारण दर्ता शूल्कमा भएको वृद्धि, कर तथा गैरकर आयबाट भएको आम्दानी रहेको कार्यक्रममा जानकारी दिइयो।

प्रतिक्रिया दिनुहोस्