प्रतिभा ब्रान्ड एम्बासडर



काठमाडौं, (नेस)
नेपाली महिला भलिबल टोली तथा न्यु डायमन्ड स्पोर्टस् एकेडेमीका चर्चित युवा खेलाडी प्रतिभा माली खेल पोशाक (स्पोर्टस वेयर) कम्पनी उत्पादक साहास स्पोर्टसको ब्रान्ड एम्बासडर बनेकी छन्।

मंगलबारबाटै औपचारिक रुपमा शुरु भएको साहास स्पोर्टसले प्रतिभालाई एक वर्षका लागि कम्पनीको ब्राण्ड एम्बासडरको रुपमा नियुक्त गरेको हो। सहमतिअनुसार प्रतिभाले वार्षिक १ लाख २० हजार रुपियाँ नगद तथा खेल पोशाकको ५० हजार गरी १ लाख ७० हजार प्राप्त गर्नेछिन्। सम्झौतापत्रमा साहास स्पोर्टस्का अध्यक्ष तथा प्रबन्ध निर्देशक जनक न्यौपाने र खेलाडी प्रतिभा मालीले हस्ताक्षर गरे।

प्रतिभालाई साहास स्पोर्टसले हरेक महिना १० हजार रुपियाँ तथा वर्षभर खेल पोशाक उपलब्ध गराउनेछ। यस्तै साहास स्पोर्टसले न्यू डायमन्ड एकेडेमीको महिला भलिबल टोलीलाई एक वर्षका लागि करिव १ लाख ७५ हजारबराबरको खेल पोशाक पनि प्रायोजन गर्ने सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा साहास स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने र न्यु डायमण्ड स्पोर्टस् क्लबका अध्यक्ष तथा नेपाल भलिबल संघकी कोषाध्यक्ष सुनकेशरी मालीले हस्ताक्षर गरे। साहास स्पोर्टसले न्यू डायमन्ड एकेडेमीलाई एक वर्षमा ५० सेट जर्सी र ५० सेट ट्रायक सुट उपलब्ध गराउने छ। प्रतिभा र न्यू डायमन्डलाई वार्षिक ३ लाख रुपियाँबराबरको प्रायोजना गरिएको न्यौपानेले जानकारी दिए।

एम्बासडरमा नियुक्त भएकी प्रतिभाले एम्बासडरको रुपमा भलिबल र मलाई नै रोजेकोमा धन्यवाद र खुसी ब्यक्त गर्दै प्रतिभाले साहस स्पोर्टस्लाई अघि बढाउन आफूलगायत टिमको साथ रहिरहने बताइन्। यस्तै सम्झौता कार्यक्रममा बोल्दै साहास स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले भर्खरै राष्ट्रिय खेलको मान्यता पाएको राष्ट्रिय खेल भलिबलसँग कम्पनीको शुरुवातसँगै जोडिन पाउन खुशी लागेको बताए।

‘केही महिनाअघि मात्र सरकारले भलिबललाई राष्ट्रिय खेलकुदको मान्यता दिएको छ। अब यसको प्रचार–प्रसार र विकासमा हामी सबैले साथ दिनुपर्दछ।’ अध्यक्ष न्यौपानेले भने– ‘त्यसैको प्रयासस्वरूप हामीले प्रतिभा र न्यू डायमन्डलाई कम्पनीको लन्चसँगै छनोट गरेका हौं। आशा छ हाम्रो प्रयासले उहाँअरूलाई उच्च प्रदर्शन गर्न थप हौसला मिल्नेछ।’

प्रतिक्रिया दिनुहोस्