फर्कियो फिल्मको क्रेज



 

विदुर गिरी

वर्ष २०७४ शुरु भएको ३ महिना बितेपछि नेपाली फिल्म क्षेत्रले बल्ल व्यापारिक सफलताको स्वाद चाख्न पाएको छ। केही महिनादेखि सुनसानप्रायः नेपाली फिल्म लागेका हलहरुमा ३ साताअघिबाट अचानका दर्शकको घुइँचो लाग्न थालेको देखिएको छ।

३ साताअगाडि रिलिजमा आएको सुदर्शन थापा निर्देशित फिल्म म यस्तो गीत गाउँछुबाट आएर बल्ल नेपाली फिल्म क्षेत्रले यसरी लामो समयपछि व्यापारिक सफलताको स्वाद चाख्न पाएको हो। तेस्रो सातामा देशका विभिन्न हलमा रिलिज भइरहेको यो फिल्मले सोमबारसम्म पनि उत्तिकै दर्शकको साथ पाइरहेको छ। फिल्मको निर्मातासमेत रहेका निर्देशक सुदर्शन थापाका अनुसार म यस्तो गीत गाउँछुले दोस्रो सातासम्म ६ करोड रुपियाँ ग्रस कलेक्सन गर्न सफल भएको छ। फिल्मको लोकप्रियतासँगै देशका विभिन्न भागमा यसको प्रदर्शन थपिएको पनि सुदर्शनले प्रस्ट्याए।


देशभित्रबाट फिल्मले लोकप्रियता हासिल गरेपछि म यस्तो गीत गाउँछुको माग विदेशमा पनि बढेको छ। निर्माता निर्देशक थापाका अनुसार यो फिल्म अमेरिका, यूके, अस्ट्रेलिया, हङकङ, कोरिया, जापान, इजरायल, थाइल्यान्ड, बु्रनाई र यूएईका लागि बिक्री भइसकेको छ। फिल्मबाट सह निर्मात्रीसमेत रहेकी नायिका पूजा शर्माले आफूलाई दरिलो स्थानमा सुरक्षित गर्न सफल भएकी छिन् भने केही फिल्ममा देखिए पनि म्युजिक भिडियो स्टारमा सीमित रहेका पल शाहले यसबाट आफूलाई प्रमाणित गर्न सफल भएका छन्।

म यस्तो गीत गाउँछुको व्यापारिक सफलतासँगै यो वर्षको सफल व्यावसायिक फिल्मको शृंखला शुरु भएको अनुभव फिल्मकर्मीले गरेका छन्। गत सातामात्रै एक साथ रिलिजमा आएका दुई फिल्म रुद्र र प्रेमगीत–२ ले यसको छनक दिएको महसुस गरिएको छ। प्रेमकथा र एक्सनको संगम रहेको रामजी लामिछाने निर्देशित रुद्रले रिलिजमा आएको दिन अर्थात् शुक्रबारदेखि नै दर्शकको राम्रो साथ पाएको छ। नायक निखिल उप्रेती मुख्य भूमिकामा रहेको फिल्मलाई दर्शकले मन पराएर यो चलेका हलहरु हाउसफुल बनाइदिएका छन्। फिल्मले शुक्रबारदेखि आइतबारसम्म अर्थात् ३ दिनमा ९० लाख रुपियाँको व्यापार गरेको यसका वितरक गोपाल कायस्थले जानकारी गराएका छन्। फिल्मबाट प्रस्तुतकर्तासमेत रहेका नायक निखिल उप्रेतीले एक्सनमा आफ्नो खुबी अझै निखारेर देखाइदिएका छन् भने नवनायिका साराले राम्रो सम्भावना देखाएकी छिन्। नवनायक विश्व शर्माले पनि मन जित्ने कोशिस गरेका छन्।

गत शुक्रबारबाटै रिलिजमा आएको अर्को प्रेममय फिल्म प्रेमगीत–२ ले पनि नपत्याउँदो व्यापार गरेर देखाइदिएको छ। देशभरका ८० पर्दामा एकसाथ रिलिज भएको फिल्मले ३ करोड बढीको ग्रस कलेक्सन गरेको वितरक गोविन्द शाहीले दाबी गरे।

प्रदीप खड्का, अभिनेतृ अश्लेषा ठकुरी, सन्तोष सेनलगायत कलाकारको मुख्य अभिनय रहेको फिल्म हेर्ने दर्शक अधिकांश तन्नेरी देखिए। फिल्मबाट प्रदीप र अश्लेषा दुवैले राम्रो क्रेज कमाएका छन्। ‘जुन सपना फिल्मबाट देखेको थिएँ, त्यो आज पूरा भएको छ’ –फिल्मका निर्देशक तथा अभिनेता सन्तोष सेनले फेसबुक पोस्टमा लेखेका छन्। प्रेमगीत–२ को निर्माण समूहले निर्माण गरेको अघिल्लो फिल्म प्रेमगीतले ५१ दिनसम्ममा गरेको व्यवसाय प्रेमगीत–२ ले दुई दिनमा गरेको समेत निर्माता सेनले दाबी गरे। उनको अघिल्लो फिल्म प्रेमगीतको निर्देशन म यस्तो गीत गाउँछुका निर्माता निर्देशक सुदर्शन थापाले गरेका थिए। थापाले प्रेमगीतको शीर्ष गीत म यस्तो गीत गाउँछुबाटै नामाकरण गरी फिल्म बनाएका हुन्। प्रेमगीत–२ भने त्यसैका लेखक रामशरण पाठकले निर्देशन गरेका हुन्।

रुद्र र प्रेमगीत–२ ले दर्शकको राम्रो साथ पाउनुमा लगातार क्यालेन्डरमा अंकित रातो चिह्नले पनि काम गरेको छ। फिल्म रिलिजलगत्तै शनिबार तथा नागपञ्चमी र जनैपूर्णिमाको बिदाको दिनको फाइदासमेत यी २ फिल्मलाई भएको हो। त्यसका साथमा हलिउड र बलिउडका ठूलो फिल्म रिलिजका बाधा अड्चन नहुनले पनि यी दुई फिल्मले दर्शकको अपार साथ पाएका हुन्। त्यसो त यसअघि केही फिल्मले त्यसभित्र दम भए बलिया हिन्दी र अंग्रेजी फिल्मले पनि केही नगर्ने तथ्यको पुष्टि गरिसकेका छन्। जे भए पनि देशभित्र व्यावसायिक सफलता हासिल गरेपछि रुद्र र प्रेमगीत–२ को माग विदेशमा पनि ह्वात्तै बढेको छ।

गत २०७३ सालमा वर्षभरिमा ७ दर्जन फिल्म रिलिजमा आएका थिए। तर, अत्यधिक सफलता भने एक दर्जन जति फिल्मले मात्र पाएका थिए। धेरै जसो फिल्म असफलताको अनुहार हेर्न बाध्य भएका थिए भने केही फिल्मले मात्र सफलताको स्वाद चाख्न पाएका थिए।

प्रतिक्रिया दिनुहोस्