पर पुरुषसँग सम्बन्ध राखेको भन्दै बाबुले गरे आफ्नै छोरीको हत्या



लक्ष्मी कुमार साह,महोत्तरी ।
महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. ८ स्थित सागरनाथ वन विकास परियोजना अन्तर्गतको जंगलमा पर्ने खोल्सीमा गत मंगलबार आफ्नै छोरीको हत्या गरि फालेको अवस्थामा शव बरामद भएको छ ।

शव बरामद भएको गौशाला नगरपालिका ८ बस्ने शिवु भन्ने शिवजी महतोको अन्दाजी २५ वर्षीय छोरी सन्तोलिया कुमारी महतो रहेकी छिन् । मृतककै बुवा शिवजी महतो र दाजु विनोद कुमार महतोले परपुरुषसंग सम्बन्ध राखेकोले हत्या गरि फालेको प्रहरी अनुसन्धानबाट खुलेकोे छ ।

साथै उनीहरुलाई प्रहरीले नियन्त्रणमा समेत लिई जिल्ला अदालत जलेश्वरबाट म्याद लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।

मृतक सन्तोलियाको विवाह महोत्तरीको गौशाला न.पा.वडा नं.२ बस्ने विक्रम महतोसंग वि.सं.२०६९ सालमा भएको र श्रीमान् वैदेशिक रोजगारमा रहेको समयमा पर पुरुषहरुसंग नाजायज सम्बन्ध राखेको खबर माईत र ससुराली पक्षले थाहा पाएको थिए ।

उक्त खबर सुन्नासाथ उनीहरुले बारम्बार उनलाई सम्झाएको बुझाएको पश्चात मृतकले आफ्नो वानीमा सुधार नल्याएको तथा नाजायज सम्बन्धलाई निरन्तरता दिएकोले बाध्य भएर आफूहरुले नै हत्या गरेको उनका बुवा र दाजुले स्वीकार समेत गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी राजकुमार लम्सालले बताए ।

गत मंगलबार श्रावण १० गते अन्दाजी ३ः३० बजेको समयमा सागरनाथ वन विकास परियोजना अन्र्तगतको जंगलमा पर्ने खोल्सीमा सन्तोलियाको मृत अवस्थामा शव देख्ने बितिकै स्थानियहरुले प्रहरीलाई खबर गरेपश्चात जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको अनुसन्धान टोलीले घटनास्थलमा पुगि अनुसन्धान गर्दा सुरुमा परिचय खुल्न नसकेपनि प्रहरीले अनुसन्धान थालेपछि आरोपीहरु आफ्नै घरपरिवारका सदस्यहरु रहेको पहिचान भएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्