पनौती रंगशालाको जग्गा विवाद ,नाम राखे निःशुल्क जग्गा दिन तयार



नेपाल समाचारपत्र, काभ्रे ।
पनौतीमा निर्माणाधिन क्षेत्रिय स्तरको रंगशालामा देखिएको जग्गा विवाद सल्टाउने प्रयास भैरहेको छ । रंगशाला निर्माणका लागि तयार पारिएको योजनामा नीजि जग्गा परेपछि बढेको विवाद टुङ्गाउन जग्गा धनी कणेल परिवार र पनौती नगरपालिकाका पदाधिकारी वीच भएको वार्ता सकारात्मक भएको छ ।

दुई पक्षवीचको वार्ता सकारात्मक भएसंगै एक÷दुई दिन भित्रै विवाद सल्टीने अनुमान गर्न थालिएको छ । रंगशाला निर्माण भैरहेको वडा पनौति नगरपालिका ७ का वडा अध्यक्ष रामचन्द्र नास्नानी र वडा नं ८ का स्थानीय नेता वेदप्रसाद वञ्जाराको विशेष पहलमा नगरपालिकाका पदाधिकारी वीच भएको वार्ता सकारात्मक भएको हो ।

रंङ्गशाला बनाउन तयार पारिएको गुरुयोजनामा पनौती नगरपालिका–७ स्थित करिव ४५ रोपनी सार्वजनीक जग्गा संगै स्थानिय गणेश कुमारी कणेल र नानी गिता कणेलको नाममा रहेको १७ रोपनी १४ आना २ पैशा जग्गा पनि परेपछि विवाद उत्पन्न भएको हो ।

सम्बन्धित जग्गा धनीले आफुहरुसंग सहमति नै नगरी झुक्याउने तरीकाले एकाएक टेण्डर आव्हान गरेको आरोप लगाउदै शुरुदेखिनै विरोध गर्दै आएका थिए । जग्गा विवादले उग्ररुप लिए संगै सर्वोच्च अदालतले कानुनी रुपमा जग्गा प्राप्त नभए सम्म नीजि जग्गामा रंगशाला नबनाउन आदेश दिएको थियो ।

वडा अध्यक्ष नास्नानीले नेपाल समाचारपत्रलाई जानकारी दिए अनुसार रंगशाला निर्माणको क्रममा देखिएको जग्गा विवाद सल्टाउन भएको छलफलमा जग्गा धनीको तर्फबाट सहमतिको लागि केहि विकल्प प्रस्तुत गरेका छन् । नगरपालिकाका पदाधिकारीले उपयुक्त विकल्पमा सहमति गर्ने तयारी गरेसंगै यो विवाद सुल्झिन लागेको हो ।

स्थानीय कणेल परिवारले आफ्नौ नीजि जग्गा मध्य चौरपट्टीको भाग पहिल्यै नगरपालिकाको नाममा पास गरेर दिने सहमति गरिसकेका छन् । खाल्टो पट्टिको करिब १० रोपनी जग्गा कसरी मिलाउने भन्ने छलफलमा जग्गा धनीको तर्फबाट केहि प्रस्ताव राखिएको थियो । जग्गा धनीहरुको पहिलो प्रस्ताव मुआब्जा तीन करोड रुपैया दिनुपर्ने छ भने दोस्रो प्रस्ताव जग्गाको सट्टाभर्ना गर्नुपर्ने छ । जग्गा धनिहरुले नगरपालिकासंग जग्गा दाताको नाममा रंगशाला निर्माण गरे निशुल्क जग्गा उपलब्ध गराउने पनि प्रस्ताव राखेका छन् ।

साथै उनिहरुले नगरपालिकाले स्थानिय बासिहरुलाई बाटो विजुली पानी जस्ता आधारभुत सुविधा दिनुपर्नेमा नगर प्रमुख आफै बसेर बोटो रोक्न पर्खाल लगाएको भन्दै आक्रोश पनि पोखेका थिए । रंगशाला निर्माणका क्रममा खाल्टा पट्टिको भागमा ५÷६ वटा घर बनाउन पुग्ने जग्गा राखेर सबै जग्गा निशुल्क दिने भन्दै उनीहरुले रंगशाला विस्तारका लागि छेउछाउका अन्य जग्गा अधिक्रमण गर्न सकिने विकल्प पनि दिएका छन् ।

वडा अध्यक्ष नास्नानीका अनुसार जग्गा धनीको तर्फबाट आएको प्रस्ताव मध्य सबै भन्दा उपयुक्त रंगशालामा कणेलको नाम राख्ने र निशुल्क जग्गा लिनु हुन्छ । जग्गा खरिद गर्नु नपर्दा त्यो रकम अन्य विकासमा लगाउन पाईने भएकोले जग्गा दाताको नाममा रंगशाला निर्माण गर्ने र निशुल्क जग्गा लिने सहमति गर्न आफुले पहल गरिरहेको उहाको भनाई थियो ।

नगरपालिका कार्यालयमा भएको छलफलमा मेयर भीम न्यौपाने, उपमेयर गीता वञ्जारा, कार्यकारी अधिकृत, प्रशासनिक अधिकृत, वडा अध्यक्ष लगाएत कणेल परिवारको सहभागिता थियो । रंगशाला भवन डिभिजन कार्यालय धुलिखेलले निर्माण गरिरहेको हो भने जग्गा मिलाउने काम पनौति नगरपालिकाले गरेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्