टाटाको हुपर टिपर बजारमा



 

नेपाल समाचारपत्र
काठमाडौं
सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्सको एस हुपर टिपर नेपाली बजारमा ल्याएको छ। फोहोरमैला सहज रूपमा संकलन तथा व्यवस्थापन गर्न एस हुपर टिपर एकमात्र सजिलो विकल्प रहेको बताइएको छ।

बढ्दो शहरीकरण, जनसंख्याको चाप, पूराना तथा साँघुरो सडक गल्ली भएको हाम्रो जस्तो देशमा हुपर टिपरको भूमिका उल्लेखनीय हुने सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले बताउनुभयो। उहाँले फोहार संकलनका लागि आधुनिक विकल्पको रूपमा हुपर टिपर आएको बताउनुभयो।

कार्यक्रममा बोल्दै फोहोर मैला व्यवस्थापन संघका अध्यक्षले नेपाली बजारमा ठेला गाडामा फोहोर उठाउने गरेको र यो साह्रै कष्टकर रहेको बताउनुभयो। उहाँले हुपर टिपरले कामलाई अझ सहज र छिटो बनाउने विश्वास व्यक्त गर्नुभयो।

बलियो डिजाइन र मजबुत लिन्केजेस भएको यस गाडीले ८५ देखि ९० डिग्रीसम्म ढल्काएर फोहोरमैला अर्को गाडीमा खन्याउन सक्ने बताइएको छ। गाडीमा १ दशमलव ८ घनमिटर क्षमता रहेको छ। यस टिपरमा सड्ने र नसड्ने किसिमका फोहोर राख्न छुट्टै कम्पार्टमेन्ट रहेको बताइएको छ। गाडी सानो आकारको भएकाले शहरका साँघुरा बाटोमा पनि सजिलै गएर फोहोर संकलन गर्न सकिने जानकारी दिइयो।

संकलित फोहोरमैला गाडीबाट नखसोस् तथा दुर्गन्ध नफैलियोस भनेर दुवै कम्पार्टमेन्टलाई छोप्ने मिल्ने छ। यसमा भएको हाइड्रोलिक लिफ्टलाई गाडीको च्यासिससँगै बलियोसँग समावेश गरिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्