एल क्लासिकोमा बार्सिलोना विजयी



 

मायामी, (एजेन्सी)
प्रि–सिजनअन्तर्गत एल क्लासिको म्याचमा रियल मेड्रिडविरुद्ध बार्सिलोना विजयी भएको छ।

अमेरिका भ्रमणमा रहेको स्पेनिस महारथीबीचको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले रियल मेड्रिडलाई ३–२ गोल अन्तरले पराजित गरेको हो। २ गोलले पछि परेर पनि खेलमा पुनरागमन गरेको रियलले हारलाई भने टार्न सकेनन्।

खेलको पहिलो हाफसम्म दुवै टोली २–२ गोलको बराबरीमा रोकिएका थिए। खेलको चौथो मिनेटमा नै बार्सिलोनाले शुरुआती अग्रता लिएको थियो। लियोनेल मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई १–० ले अघि पारेका थिए। त्यसको ३ मिनेट नबित्दै इभान राकिटिचले डिबक्सभित्रबाट गोल गर्दै बार्सिलोनाले अग्रता दोब्बर पारे। तर, खेलको १४औं मिनेटमा मटियो कोभाचिचले डिएरिया बाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि रियलले खेलमा फर्कने छाँटकाँट देखाएको थियो। जसअनुरूप खेलको ३६औं मिनेटमा रियलका मार्को एसेन्सियोले गोल गर्दै खेललाई बराबरीमा ल्याए।

तर, खेलको ५०औं मिनेटमा जेरार्ड पिकेले नेयमारको घुमाउरो फ्रिकिक प्रहारमा फ्लिक गर्दै गोल गरेपछि बार्सिलोनाको गोल संख्या ३ पुग्यो। यता गोलको लागि संघर्षरत रियलको तर्फबाट खेलको ६४औं मिनेटमा गेरेथ बेलले गरेको उत्कृष्ट प्रहारलाई बार्सिलोनाका गोलरक्षक जास्पर सिल्लेसनले जोगाएका थिए। त्यसपछि खेलमा थप गोल भएन र बार्सिलोनाको जित सुनिश्चित बन्यो। सन् १९९१ यता यी दुई टोलीले एक–आपसमा मैत्रीपूर्ण म्याच खेलेको यो नै पहिलो अवसर हो। स्पेनबाहिर भने यो दोस्रो एल क्लासिको म्याच हो।

इन्टरसँग चेल्सीको हार

सिंगापुरमा जारी इन्टरनेसनल च्याम्पियन्स कपमा इटालियन सिरी ए क्लब इन्टर मिलानसँग चेल्सी पराजित भएको छ। आइतबार भएको खेलमा इन्टर मिलानले इंग्लिस च्याम्पियन चेल्सीलाई २–१ गोल अन्तरले हराएको हो। प्रतियोगिताअन्तर्गत प्रिमियर लिग च्याम्पियन चेल्सीको यो लगातार दोस्रो हार थियो। जोभेटिचले पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए। यस्तै खेलको ५३औं मिनेटमा जोभेटिचको पास सदुपयोग गर्दै इभान पेरिसिचले इन्टरको तर्फबाट दोस्रो गोल गरे। यता इन्टरका जिओफ्री कोन्डोगबियाले खेलको ७५औं मिनेटमा आत्मघाती गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्