मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक



 

सन्तोष अधिकारी, गोरखा
गोरखाको मनास्लु क्षेत्रमा घुम्नका लागि अहिलेसम्मकै धेरै बाह्य पर्यटक आएका छन्। आर्थिक वर्ष २०७३⁄०७४ को साउनदेखि असारसम्ममा अहिलेसम्मकै धेरै पर्यटक मनास्लु घुम्न आएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाले जनाएको छ।

‘मनास्लु घुम्न आउने पर्यटकहरूले अहिलेसम्मको रेकर्डलाई ब्रेक गरे’, एमक्यापका प्रमुख नरेन्द्र लामाले भने– ‘यस वर्ष ५ हजार ७ सय ४५ जना विदेशी पर्यटकले मनास्लु पदमार्ग घुमेका छन्।’ पछिल्लो तीन वर्षमा सन् २०१५ मा ५ हजार ९ सय १८ जना, ०१६ मा ४ हजार ८ सय ७२ जना विदेशीले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए। अघिल्लो वर्षमा भूकम्पले असर गरेको पर्यटकको संख्या केही कम भएको एमक्यापले जनाएको छ। भूकम्पले मनास्लु पदमार्ग भत्काएको थियो।
त्यसलगत्तै पदमार्ग सुधार, स्थानीयमा पर्यटनसम्बन्धी चेतना वृद्धि, केही सेवा थप गरी होटललगायतका कुराले पनि पर्यटक बढेको लामाको भनाइ छ। ‘अन्य संरक्षण सडक सञ्जालले लथालिंग जस्तै बनाएको छ’, उनी भन्छन्– ‘मनास्लुमा अहिलेसम्म त्यसको असर परेको छैन। त्यसैले अब झन् मनास्लु क्षेत्र आउने पर्यटकको संख्या बढ्ने देखिन्छ।’

एमक्यापले पर्यटकको सहजताका लागि चुमनुब्री गाउँपालिकाको सिर्दीबासस्थित जगतमा र सामागाउँमा पर्यटन सूचना केन्द्रसमेत स्थापना गरेको छ। मनास्लु घुम्न आर्थिक वर्ष २०७३⁄०७४ को साउन महिनामा ३८ जना, भदौमा २ सय ८२, असोजमा १ हजार ५ सय ५५, कात्तिकमा १ हजार ३ सय ७१, मंसिरमा २ सय ३६, पसमा ४०, माघमा ३७, फागुनमा ३ सय १२, चैतमा १ हजार २ सय १९, वैशाखमा ५ सय ४३, जेठमा ८४ र असारमा २८ विदेशी पर्यटक आएको एमक्यापले जनाएको छ।

यी पर्यकबाट १ करोड रुपियाँ राजस्व संकलन भएको छ। मनास्लु क्षेत्रको दुई चर्चित चुमभ्याली र नुब्री भ्याली सँगै मनास्लु हिमाल आरोहणका लागि पनि पर्यटक आउने गर्छन्। त्यस्तै चर्चित लार्केपास गर्नका लागि पनि पर्यटक गोरखाको मनास्लु क्षेत्रमा आउने गर्छन्।

प्रतिक्रिया दिनुहोस्