सिकाइ अभ्यास



ईश्वरराज ढकाल

कक्षा २ का ४३ प्रतिशत विद्यार्थीहरूले मात्र सबै देवनागरी अक्षरहरू शुद्धसँग पढ्न सक्छन्। (स्रोतः रुम टु रिड, २००९)
कक्षा ३ का नेपाली भाषा बोल्ने विद्यार्थीहरूमध्ये ३६ प्रतिशतले दिइएका पाठ्यसामग्रीको एक शब्द पनि पढ्न सकेनन्। (स्रोतः इक्यूयूआईपी, २०१०)

कक्षा २ का ८० प्रतिशत विद्यार्थीहरूले एक शब्द पनि पढ्न नसकेको र उनीहरूको मौखिक पढाइको गति प्रतिमिनेट पाँच शब्द मात्र छ। (सेभ दी चिल्ड्रेन, २०११)

कक्षा २ का ३ दशमलब .३ र कक्षा ३ का १९ दशमलब ९४ प्रतिशत विद्यार्थीले मात्र सबै व्यन्जन वर्ण शुद्धसँग पढ्न सके। कक्षा २ का १२दशमलब ५३ र कक्षा ३ कार २३ दशमलब ८ प्रतिशत विद्यार्थीले मात्र दिइएका सरल शब्दहरू शुद्धसँग पढ्न सके। साथै कक्षा २ का १ दशमलब ५४ र कक्षा ३ का ३ दशमलब ५२ प्रतिशत विद्यार्थीले मात्र दिइएका अनुच्छेद शुद्धसँग पढ्न सके। (स्रोतः विश्व शिक्षा, २०१२)


माथिको तथ्याङ्कले नेपाली भाषाका बारेमा प्राथमिक तहका विद्यार्थीको अवस्थालाई सहजै उजिल्याउँछ। पक्कै पनि अवस्था सकारात्मक छैन। नेपाली विद्यार्थीको नेपाली विषय र भाषामा सिकाइ उपलब्धि सन्तोषजनक मान्न सकिने अवस्था पटक्कै छैन।

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले काभ्रे, काठमाडौँ र चितवनका कक्षा २ का केही विद्यार्थीको पढाइ क्षमताको परीक्षण गरेको थियो। सो परीक्षणको नतिजा हेर्दा पनि अवस्था सन्तोषजनक पाइएको छैन। परीक्षणले ठिकसम्म वर्ण पढ्न सक्ने (प्रतिमिनेट) ३४ दशमलब ६ प्रतिशत, ठिकसँग स्वर तथा व्यञ्जन वर्ण पढ्न सक्ने १८ दशमलब ८ प्रतिशत, ठिकसँग परिचित शब्द पढ्न सक्ने १३ दशमलब ३ प्रतिशत, ठिकसँग सस्वर पढाइ गर्न सक्ने १२ दशमलब ७ प्रतिशत र ठिकसँग बोध प्रश्न उत्तर दिन सक्ने (प्रतिचार प्रश्नमा) १ दशमलब ४ प्रतिशत मात्र रहेको देखाएको थियो।

हुन त ठिक यस्तै अवस्था अन्य मुलुकको पनि छ। विश्वमा प्राथमिक विद्यालय उमेरका लगभग २ सय ५० मिलियन र एसिया प्रशान्त क्षेत्रमा दुई सय मिलियन बालबालिकाले राम्ररी अक्षर चिनेर वाक्य पढ्न सक्दैनन्। विश्वका निम्न आय भएका देशहरूका बालबालिकामा पढाइ सिप विकास गर्न सकिएको अवस्थामा लगभग १७१ मिलियन मानिसहरू गरिबीबाट मुक्ति पाउँछन्। यसबाट विश्वको लगभग १२ प्रतिशत गरिबी कम हुने सबैका लागि शिक्षा कार्यक्रमको ठम्याइ छ।
प्राथमिक कक्षाका विद्यार्थीको सिकाइ अभिबृद्धिमा जोड दिने, कक्षा दोहोर्याउने तथा कक्षा छोड्ने जस्ता शैक्षिक क्षतिको न्यूनीकरण गर्नेलगायतको लक्ष्यका साथ शैक्षिक जनशक्ति विकास केन्द्रले राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको थालनी गरेको छ।

केन्द्रका उपनिर्देशक पुण्यप्रसाद घिमिरेले गत वर्ष कक्षा १ र २ मा तथा चालु शैक्षिक सत्रमा कक्षा ३ मा नेपाली भाषाको अभ्यास पुस्तिकाको पठनपाठन थालिएको जानकारी दिनुभयो। उहाँका अनुसार हाल कन्चनपुर, बाँके, कास्की, मनाङ, भक्तपुर र सप्तरीमा लागू गरिएको कार्यक्रम आगामी वर्षबाट थप १० जिल्लामा लागू गरिनेछ।

१ सय ९२ दिन विद्यालय खोल्नु पर्ने गरी अभ्यास पुस्तिका तयार गरिएको छ। हरेक दिनको पाठ योजना त्यसमा समावेश छ। कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई नेपाली विषयका शिक्षकले हरेक दिन खेलाएर, गीत गाएर, हातका इसाराको प्रयोग गरेर लगायत गरी अध्यापन गर्नुपर्ने हुन्छ। उनीहरूलाई अध्यापन गर्ने तौरतरिका लगायतका बारेमा जानकारी दिने शिक्षक निर्देशिका पनि हरेक शिक्षकका हातहातमा उपलब्ध गराइएको छ। साथै विद्यार्थीहरूका लागि थप शैक्षिक सामग्रीको बाकस नै प्रदान गरिएको छ।

केन्द्रका उपनिर्देशक घिमिरेले सबै कक्षाको अन्त्यमा सबै विद्यार्थीले तोकिएकोअनुसारको आधारभूत पढाइ सिप आर्जन गर्ने, विद्यार्थीहरूमा पठन सिप र बानीको विकास हुने, शैक्षिक सामग्रीको पहुँच र प्रयोगमा सुधार आउने लगायतको अपेक्षा गरिएको बताउँदै भन्नुभयो, ‘भाषा शिक्षणका लागि समय बृद्धि हुनेछ।’

उता शिक्षकहरूले थप अभ्यास पुस्तिका अध्यापन गर्नुपर्दा हाल अध्यापन गरिँदै आएको नेपाली विषयको पाठ्यपुस्तकको पठनपाठनमा समस्या आउनसक्ने गुनासो गरेका छन्। पठन तत्वमा जोड दिन नेपाली विषयका लागि कम्तीमा ९० मिनेटको समय निर्धारण गरिएको छ। यसको अध्यापनपछि विद्यार्थीको पढाइ, लेखाइ र बोधका आधारभूत सिपमा दक्षता हासिल हुने दावी गरिएको छ।

केन्द्रले असारको अन्तिम सातामा ती जिल्लाका नेपाली विषयका शिक्षकहरूलाई तालिम दिएको छ। यस्तो तालिम चैतमै दिइएको भए उपयुक्त हुने बताउँदै शिक्षकहरूले ढिला गरी तालिम दिइएकाले १९२ दिनको शैक्षिक कार्यक्रम सम्पन्न गर्न सम्भव नहुने बताएका छन्।

शिक्षकहरूको भनाइ

श्रवणकुमार सिंह, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय
अभ्यास पुस्तिकामा दिइएको चित्र श्यामश्वेत भएकाले प्रभावकारी भएन। यो रंगीन हुनुपथ्र्याे। पढाउन प्रभावकारी हुन्थ्यो।

रामसिंह सोनी, मावि महेन्द्रनगर
तालिम लिएपछि उपलब्ध गराइएका शैक्षिक सामग्रीको प्रयोग गर्न सिकिनेछ। तर तालिमको अवधि कम भएको महशुस भइरहेको छ। अन्य पाठ्यक्रम पनि छन् तिनलाई यसले असर गरेको छ। यसले शिक्षकलाई धेरै तनावमा पारेको छ। अभिभावकहरू कक्षाकोठामा आउँछन् र सबै किताब पढाउँदैनन् भनेर गुनासो गर्छन्। तिनलाई ९० मिनेटको कक्षा हो भन्ने थाहा हुँदैन। मास्टर दिनभरि एउटै कक्षाकोठामा बिताउनुपर्दछ भन्ने मात्र सोच्छन्।

मोहम्मद सब्बिर राई, पिपरहवा मदरसा
मदरसाका लागि नयाँ किसिमको पाठ्यसामग्री प्रयोगमा ल्याइएको हो। परम्परागत पठनपाठन भइरहेकोमा शिक्षक (मौलाना)हरू अलमलिन्छन्। ताली र औँलाबाट सिकाउने भनेपछि अभिभावकलाई अचम्म लाग्नेछ। उनीहरू शिक्षकले नपढाएर खेलाइरहन्छन् भन्ने लाग्न सक्दछ। त्यसैले व्यवस्थापन पक्षलाई पनि यो बारेमा जानकारी दिइनुपर्दछ।

उषा पाठक, पशुपति मावि
१९२ दिनकै यही अभ्यास पुस्तिका दिइएको छ, तर यसले गर्दा नेपाली पुस्तक पढाउने समय नै पुग्दैन। नेपाली पुस्तक कसरी अध्यापन गर्ने भन्ने समस्या छ। समयको अभाव हुने देखिएको छ। नेपाली पाठ्यपुस्तक र अभ्यास पुस्तिका मेल खाने भएन। त्यसैले पढाउन पनि समस्या हुने देखियो।

मोहम्मद सकिल खान, अल जामेतुल इस्लामिया मदिनतुल बनाद बालका मदरसा
मदरसामा नेपाली विषय पढाउने शिक्षक छैनन्। हामीहरूले नै जेनतेन पढाउँदै आएका छौँ। एक लाख ८८ हजार रुपियाँले मदरसा चलाउनुपर्दछ। तीन मुदरिस, मास्टर र एक शिक्षक राखिन्छ। पाँच विषय सरकारी पाठ्यक्रमका र तीन विषय उर्दू विषय अध्यापन गर्नुपर्दछ। तीन हजार रुपियाँमा पढाउने शिक्षक खोज्नुपर्दछ। त्यतिमा काम गर्ने शिक्षक फेला पार्न कठिन छ। कतिपय मदरसामा नाचेर, गाएर पढाउन प्रतिबन्ध लगाइएको हुन्छ। उनीहरूलाई यो अभ्यास पुस्तिका लागू गर्दा सम्झाउनु र चेतना दिनु जरुरी छ।

उमा केसी शाह, महाराजा मावि
१९२ दिन पढाउनका लागि पुस्तक दिइएको छ। तर नेपाल सरकारले यसअघि दिएको पाठ्यपुस्तक के गर्ने ? त्यो नेपाली पनि पढाउनुपर्ने हुन्छ। ९० मिनेटको कोर्स यो अभ्यास पुस्तिका नै छ। त्यो पाठ्यपुस्तकको के गर्ने ? तालिम हामीलाई दिइयो एकदमै राम्रो तर बीचमा पुनर्ताजगी गराइदिनुपर्दछ। एक वा दुई दिने भए पनि हुन्छ। त्यसले गर्दा अध्यापनका क्रममा देखिएका समस्या थाहा पाइन्थ्यो र समाधान गर्न सकिन्थ्यो।

निशा पाठक, हनुमान आधारभूत विद्यालय
पहिले विद्यार्थीलाई गृहकार्य दिइन्थ्यो र अभिभावक पनि गृहकार्य दिइएकोमा खुसी हुन्थे। पढ्थे पनि। अब विद्यालयमा नै अभ्यास गराउने भयो। अभिभावकहरू शिक्षकहरूले पढाउँदै पढाउँदैनन्, पढाउने भए त गृहकार्य दिन्थे नि भन्छन्। विद्यालयमा गएर खेल्छन् र घरमा पनि खेल्छन् भन्ने अभिभावकहरूको सोच छ। अभिभावकले बुझ्दैनन्। घरको लागि गृहकार्यको व्यवस्था पनि भइदिए हुन्थ्यो अभ्यास पुस्तिकामा।

ओमप्रकाश त्रिपाठी, मावि बनकटी
तालिम अवधि छोटो भयो। तालिम ढिलो भयो। शैक्षिक सत्र शुरु हुनुअघि तालिम दिइनुपथ्र्याे। तीन महिना त पढाइसक्यौँ। पहिले नै तालिम दिइएको भए अझ प्रभावकारी हुन्थ्यो। तालिम राम्रो छ। धेरै सिक्यौँ। १० दिन पनि कम भयो। पर्याप्त भएन।

विजयप्रसाद मुरौ, प्रावि होलिया
राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम आगामी दिनमा अन्य विषयमा हुनुपर्दछ। यस्तै प्रकारको ढाँचा र निर्देशिका बनाएर लागू गरेपछि हुन्छ। यो तालिमले पहिलेभन्दा राम्रो पढाउनसक्छु भन्ने आत्मविश्वास बढेको छ। एकपटक पुनर्ताजगी दिइनुपर्दछ।

अस्गर अली तेली, मदरसा राँझा
नयाँ किसिमको अनुभव गरिरहेका छौँ। पठन सीपका बारेमा सिक्न पायौँ। धेरै नयाँ कुरा सिक्यौँ। पढाउने तरिका पनि सिक्न पाएका थिएनौँ, तर सिक्न पायौँ। तीन कक्षासम्म मात्र भएर पुग्दैन माथि पनि पढाउने तरिका सिकाउनुपर्दछ। समयमा नै सिकाउनुपर्दछ। दुई तिन महिना बितिसकेको छ। अब वर्षाको पनि बिदा हुन्छ। तुरुन्तै कक्षामा लागू गर्नुपर्दछ। चैतमा तालिम सम्पन्न गर्न सकिएको भए प्रभावकारी हुन्थ्यो जस्तो लागेको छ।

नसरिन सेख, दारुल उलुम गुलसने मदिना
पढाउने छ तत्वका सीपका कुरा सिक्न पायाँै। यी सिपलाई प्रयोग गरी पढाउन पायौँ भने राम्रो हुन्छ। ध्वनी सचेतीकरण, लेख्य, पठनप्रवाह, शब्द भण्डार, पठन बोध र लेखाइ अनुरूप पढाइएमा हाम्रा बच्चाले सजिलैसँग बुझ्न सक्छन्। पहिले ध्वनी नै थाहा हुनुपर्दछ। यी ज्ञान भएमा बल्ल अगाडि पढाउन सकिन्छ। शब्द कुन ठाँउमा पढाउने भन्ने तालिमबाटै थाहा पायौँ। विद्यालयमा लागू भएको पाठ्यपुस्तक र अभ्यास पुस्तिका मिसाएर शुरुमै तालिम भइदिएको भए सँगसँगै लैजान पाउँथ्यौँ। भार पनि शिक्षकमाथि पनि भयो। बच्चामाथि पनि भयो। त्यो पनि पढाउनुपर्यो। यो पनि पढाउनुपर्यो। भ्याउन सजिलो छैन।

मुबारक अली बागवान, मदरसा इस्लामिया हसमतु रजा
यसमा विद्यार्थीलाई सिकाउने प्रक्रिया एकदमै राम्रो छ। यहाँबाट सिकेका कुराबाट आफ्नो कक्षा र पढाउने तरिकामा अवश्य पनि सुधार गर्नेछौँ। सिकाइका तत्वहरू थिए। यी प्रक्रियामा शिक्षण गर्दा अवश्य नै सुधार आउनेछ। ढिला भएको थियो पहिले पनि। अहिले पनि ढिलो भएको छ। पूरा भ्याउन मुस्किल छ। बीचमा शिक्षकलाई तालिम आवश्यक छ। यो तालिम अर्थपूर्ण र प्रभावकारी छ।

प्रतिक्रिया दिनुहोस्