मेलिनालाई स्वर्ण



 

काठमाडौं, (नेस)
फेरिल्यान्डकी मेलिना मानन्धरले दोस्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार खुला छात्रातर्फ स्वर्ण जितेकी छन्।

त्यस्तै प्रतियोगितामा सिर्जना ज्ञान सागरका विकिन पोखरेलले सिनियर छात्रतर्फ र न्युटनका सक्षम पाण्डेले जुनियर छात्रतर्फ स्वर्ण जिते। खुला गल्र्सको उपाधि भिडन्तमा मेलिनाले ज्ञान मन्दिरकी रविना खत्रीको चुनौती १२–१०, ११–९ र ११–५ को सीधा सेटमा समाप्त पारिन्। न्युटनकी विनिशा केसी र सिर्जना ज्ञान सागरकी प्रेमकुमारी तामाङले तेस्रो स्थानमा चित्त बुझाए।

अर्गनाइजेसन अफ प्राइभेट स्कुल (ओप्स) को आयोजना तथा पुष्पकुञ्ज हाई स्कुलको संयोजनमा भएको प्रतियोगिताको सिनियर ब्वाइज फाइनलमा विकिनले राजन मेमोरियलका अनुप नेपाललाई १२–१०, ११–६ र ११–६ को सोझो सेटमा पराजित गरे। हिमरश्मीका अश्विन अधिकारी र सेबका रेजिल गुरुङ संयुक्त रूपमा तस्रो भए।

सामाखुसीको मित्रनगरस्थित पुष्पकुञ्जमा भएको प्रतियोगिताको जुनियर ब्वाइज फाइनलमा सक्षमले सिर्जना ज्ञान सागरका प्रवीण सापकोटालाई ६–११, ११–५, ११–१३, ११–३ र ११–६ को सेटमा हराए। पुष्पकुञ्जका प्रतीक सुब्बा र जीसीएका प्रवीण भुसाल तेस्रो बने।

समग्रमा सिर्जना ज्ञान सागर टिम च्याम्पियन बन्यो। सिर्जना ज्ञान सागरले तीन स्पर्धा समावेश प्रतियोगितामा समान १ स्वर्ण, १ रजत र १ कांस्य जित्यो।

प्रतिक्रिया दिनुहोस्