भारतको विदेशमा ठूलो जित



 

नयाँदिल्ली, (एजेन्सी)
भारतले गालेमा भएको श्रीलंकाविरुद्ध पहिलो टेस्ट ३ सय ४ रनले जितेपछि विदेशी भूमिमा अहिलेसम्मकै ठूलो जित हात पारेको छ।

८५ वर्षको टेस्ट इतिहासमा भारतको यो अहिलेसम्मकै विदेशबाहिर ठूलो जित हो। यसअघि लिड्समा इंग्ल्यान्डविरुद्ध १९८६ मा पाएको २ सय ७९ रनको जित भारतको ठूलो जित थियो। टेस्टको चौथो दिन शनिबार घरेलु टोली श्रीलंका २ सय ४५ रनमा अलआउट भएपछि भारतले ३ सय ४ रनको फराकिलो जित हात पार्यो। असेला गुणरत्ने र रंगना हेराथ चोटका कारण ब्याटिङ गर्न नसकेपछि श्रीलंकाका लागि दोस्रो इनिङमा समस्या परेको थियो। भारतले श्रीलंकालाई ५ सय ५० रनको विशाल लक्ष्य तेर्साएको थियो। तीन खेलको सिरिजमा १–० ले अग्रता बनाएको भारतले दोस्रो टेस्ट कोलम्बोमा ३ अगस्टदेखि खेल्नेछ।

यसअघि पाहुना टोली भारतले पहिलो इनिङमा सानदार ६ सय रनको विशाल योगफल बनाएको थियो। जसमा शिखर धवनले १ सय ९० रन योगदान दिँदा चेतेश्वर पुजाराले १ सय ५३ रन जोडेका थिए। श्रीलंका २ सय ९१ रनमा अलआउट भएपछि भारतलाई पहिलो इनिङमा ३ सय ९ रनको ठूलो अग्रता पाएको थियो। भारतले श्रीलंकालाई फलोअनमा खेलाएन। श्रीलंकाका लागि दिलरुवान पेरेराले ९२ रन, एन्जेलो म्याथ्युजले ८३ रन र उपुल थारांगाले ६४ रन बनाए। तर, अन्य चल्न नसक्दा टोली भारतभन्दा धेरै पछि परेको थियो।

दोस्रो इनिङमा भारतले ३ विकेटका लागि २ सय ४० रनमा समाप्त भएको घोषणा गरेको थियो। टोलीका लागि कप्तान विराट कोहलीले १ सय ३ रनको शतकीय योगदान दिए। अभिनव मुकुन्दले ८१ रन जोडेका थिए। श्रीलंकाको दोस्रो इनिङमा डिमुठ करुणरत्नेले सम्हालिएर खेले पनि उनको विकेट पतनसँगै टोलीले चौथो दिनमै पराजय बेहोर्यो। उनले स्विप गर्ने कोशिसमा रविचन्द्रन अश्विनको बलमा बोल्ड भएका थिए। उनी ९७ रनमा आउट भएका थिए। त्यस्तै निरोसन डिकवेलाले ६४ रनको योगदान दिँदा बाँकीले निरस ब्याटिङ गरेका थिए। भारतको तर्फबाट अश्विनले ६५ रन दिएर तीन विकेट लिए भने रवीन्द्र जडेजाले त्यति नै विकेट लिन ७१ रन खर्चेका थिए। पहिलो इनिङमा जडेजाले ६ विकेट र अश्विनले ४ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्