फिजेट स्पिनरको लत बस्ला है



 

औंलामा राखेर फनफन घुमाइने एउटा सानो खेलौनाले अहिले विश्वमै ठूलो लोकप्रियता कमाइरहेको छ। नेपालमा समेत धेरै बालबालिकाहरुको हातमा देखिन थालेको छ अहीले फिजेट स्पिनर। तनाव कम गर्न र एकाग्रता बढाउन सहयोग गर्ने विश्वासले गर्दा यसका प्रयोगकर्ताहरु बढेका हुन्। बच्चाहरुका लागि भने यो मनोरञ्जनको बस्तु पनि बनेको छ। प्लास्टिक तथा मेटलयुक्त यस्ता स्पिनर बजारमा विभिन्न र· तथा डिजाइनमा किन्न पाइन्छ। नेपाली बजारमा यस्ता स्पिनरको मूल्य न्यूनतम एक सय रुपियाँदेखि एक हजार रुपियाँसम्म पर्ने गर्छ।

विदेशमा भने लाखौं रुपियाँसम्मका स्पिनर पाइन्छन्। गोलाकार स्पिनरको बीचमा एउटा रि· हुन्छ। साइडमा तीनवटा प्वाल हुन्छन्। सोही तीन प्वालमध्ये एउटामा औंला राखेर यसलाई घुमाइन्छ। त्यसरी घुमाउँदा स्पिनर नझरोस् भन्नका लागि अर्को एउटा औंला (बुढी औंला)ले सहारा दिइन्छ। यस खेलको विशेषता यति मात्रै हो। यसकै लागि अहिले बालबालिका मरिहत्ते गरिरहेका छन्। बजारमा यसलाई एकाग्रता बढाउने र तनाव हटाउने सामग्रीका रुपमा प्रचार गरिँदै आएको छ।
तर यो खेलौनामा लत बस्यो भने हानिकारक हुनसक्ने अवस्था पनि छ। स्पिनर फिजेटको प्रभावकारीतालाई आजसम्म चिकित्सकीय विज्ञानले पुष्टि गरेको छैन। अधिकांश बच्चामा एकाग्रता नहुने समस्या बढी हुन्छ। तिनीहरुमा एकाग्रता कायम गर्न यस्ता खेलहरु उपयोगी हुनु स्वाभाविक हो। तर यही कुरा लत बन्न गयो भने बच्चाहरुमा समस्या पनि निम्त्याउन सक्छ। फिजेट स्पिनरले पनि बालबालिकालाई केही समयको लागि रमाइलो महशुस गराउनुका साथै उनीहरुलाई पढाइलेखाइको तनावबाट मुक्ति दिलाउँछ। तर त्यसो भन्दैमा यसैको पछि लाग्नु गलत हुन्छ। यदि कुनै बच्चा चकचके छ, एकै ठाउँमा बस्दैन र कुनै पनि कुरा ग्रहण गर्न समस्या हुन्छ भने उसलाई यसले एकाग्र हुन मद्दत गर्न सक्छ। तर, त्यसो भन्दैमा यसैमा लत बसाउन भने हुँदैन।

– श्रवण पाण्डेय, मनोचिकित्सक, काठमाडौं

घरजग्गाको कर बढाउन पाइँदैन

कर बढाउन जथाभावी घरजग्गाको मूल्याङ्कन गरेर काठमाडौं महानगरपालिकाले जनताको ढाड सेक्ने काम गरेको छ। काठमाडौं महानगरपालिकाले आर्थिक ऐनमा पुनरवलोकन गर्न जरुरी छ। कर बढाउन ऐनमार्फत घरजग्गाको मूल्यांकनमा नयाँ आधारहरू तय गरिएको छ त्यो गलत हो। यसै कारण महानगरपालिका एक कदम पछि हटेर त्यो जनचाहाना विपरीत गरिएको अहिलेको निर्णय कार्यान्वयन नगर्ने गरी काम गर्नुपर्छ। कर घरजग्गाको मूल्यांकनमा लिइएको नयाँ नीति गलत छ।

त्यसकारण महानगरपालिकाले घरको बनोटका आधारमा जग्गा तथा घरको मूल्यांकन दरलाई पुनरवलोकन गर्नु जरुरी छ। महानगरपालिकाले ल्याएको नयाँ व्यवस्थाले राजश्वमा नै थप प्रभाव पर्ने र त्यसले उठिरहेको राजश्व पनि नउठ्ने अवस्था आउन सक्नेछ भन्नेमा अहिले नै हेक्का हुन पनि जरुरी छ।

महानगरपालिकाले विभिन्न आधारहरु तय गरेर कर बढाउने गरी घर जग्गाको मूल्यांकन ४ गुणासम्म बढाएको निणर्य गलत छ। कर बढाउन ल्याएको नीतिले कर उठ्नै समस्या हुने अवस्था छ। यसमा पुनरावलोकन र फेरि सोच्ने काम होस्।

– सरोज तिवारी, काठमाडौं

म गल्कोटेको पीडा !

मेरो गाउँ कति राम्रो छ। मात्र तुलना गर्छु काठमाडौं अर्थात देशको राजधानीसँग। जहाँ साँस्कृतिक सम्पदाले भरीभराउ छ। तर प्रकृति विगारेर फोहोर बनाइसके। पहाडको एउटा कुना, कन्दरा, पहाडको ठाउँमा जन्मेको जो कोहीलाई यो धुलाम्मे शहरभन्दा आफ्नो ठाउँ जन्मस्थान प्यारो लाग्छ। त्यसो त राजधानीमा जन्मनेहरुलाई पनि प्यारो नलाग्ने भन्ने आशय भने होइन। राजधानीको यो धुलाम्मे वातावरणले तिनै बिकट र कुना कन्दरा सोच्न, सम्झन बाध्य गराउँछ। चिसो हावा स्वच्छ वातावरण, आफ्नै मुहानको पानी ठाडो घाँटी लगाएर घटघट पिउँदाको याद अनि अतृप्त प्यास मेटिदाको क्षण स्मरण गर्दा यो शहर विरक्त लागेर आउछ, तर के गर्ने सरकारको आखाँ ती पहाडसम्म पुगेन।

त्यहाँ एउटा गुणस्तरीय कलेज भइदिएको भए किन आउनुपथ्र्यो र यो धुलाम्मे शहरमा ? बिडम्वना यस्तै छ, हरेक मान्छेलाई केही न केही कुराको आवश्यकता भएर यो राजधानीको धुलो खान आउनुपरेको छ। कतिलाई स्वास्थ्य समस्या, कतिलाई भनेजस्तो रोजगार, कतिलाई गुनस्तरीय शिक्षा, यस्तै विभिन्न बाहनामा राजधानी भित्रिनेहरु लामबद्ध छन्। त्यसैले त राजधानीमा मान्छेको चाप थेगिसाध्य छैन। प्राकृतिक रूपमा त राजधानीका सबै प्राकृतिक सम्पदाहरु मासिइसकेका, सिध्याइसकेका छन्। भएका मानव निर्मित कलाहरुको क्षत्विक्षत् भएको छ। कला संस्कृतीले कँुदिएका पहेँला गजुरहरु धमिलो भएका छन्।

यस्तै पुर्खाले निर्माण गरेका मठ, मन्दिर, धरहरा अब नक्सामा मात्र सीमित भएका छन्। कति आफैं ढले, कति कसैद्वारा ढलाइए। बाटोमा टिठलाग्दो गरि उभिएका सालिकहरु अहिले सडक अवरुद्ध गर्न प्रयोग गरेका छन्। ढलेका सालिकहरुलाई सबैले कुल्चेर हिँड्न थालेका छन्। दादागिरी देखाउनेहरुले नियम मिच्दै भित्ताहरु र·ीविर·ी बनाएर मुर्दावाद र जिन्दावादका तस्वीरहरु कोरेका छन्। कति चरम लापरवाही गरेका छन् ? त्यसैले साह्रै याद आउँछ आफ्नै गाउँ, आफ्नै ठाउँको। आफ्नै गाउँको त्यो कोइलीको आवाज अनि निर्मल वातावरणको सम्झनाले सधैँ सताइरहन्छ मलाई। त्यसैले राजधानीलाई सुन्दर बनाउनुपरेको छ। यसका लागि केही गर्ने कि ?

– राकेश रोका, गल्कोट, बाग्लुङ

साझा बस ठानेर ठगिएँ

म काठमाडौंको एनएसीअगाडि गाडीको प्रतीक्षा गरिरहेको थिएँ। मलाई झक्तपुरको लोकन्थलीमा पुग्नुथियो। त्यसैले माइक्रो वा साझाबस पाए हुन्थ्यो भन्ने लागेको थियो। ठिमी चल्ने माइक्रो स्ट्यान्डमा एउटा लामो बस देखियो। सो बसको कन्डक्टरले भक्तपुर–भक्तपुर भनेर कराएको पनि सुनें। कतै नअलमलिइ बसभित्र पसें। सिट पनि पाइयो। चारैतिर हेरें। सीसी क्यामरा जडान, नयाँ र लामो बस। संयोगले साझा बस नै पाएँ भनेर मन प्रफुल्लित भयो। तर ठाउँ–ठाउँमा बढी नै समय रोक्ने र मान्छे कोच्ने अनि रुखो व्यवहार गर्ने गरेको देख्दा भने साझा बस पनि अब खेर गएछ भन्ने लाग्यो।

म लोकन्थलीमा पुगेर ओर्लिन खोजें। एनएसीदेखिको भाडा कति हो भनेर २० रुपियाँ दिँदा त बीस नै हो भनेर फिर्ता नदिँदा पो थाहा पाएँ, साझा बस होइन रहेछ। यसरी ठूला बस राखेर यात्रुलाई सेवा पुर्याउनु धेरै राम्रो हो तर साझा बसजस्तै बनाएर यात्रुलाई झुक्याउँदै बढी भाडा असुल्नु सोह्रै आना ठगी हो। जब कि अहिले भक्तपुरमा साझा चल्न थालेदेखि लोकन्थलीसम्मको भाडा १५ रुपियाँ लिने गरेको पाइन्छ। खास भाडा १६ लेखिए पनि कतिपय माइक्रो बसले समेत १५ रुपियाँ मात्रै लिने गरेका छन्। जति कमाउनु पहिले नै कमायौ यात्रुलाई सास्ती दिएर, अब त यस्तो ठगी कहिलेसम्म चल्छ र ?
– विनयकुमार कार्की, भक्तपुर

प्रतिक्रिया दिनुहोस्