भाइरल पान्डा भिडियोप्रति आक्रोश



 

बेइजिङ, (एजेन्सी)
चीनको चेंगडुस्थित एउटा चर्चित अनुसन्धान केन्द्रमा दुईवटा पान्डाको बच्चालाई दुव्र्यवहार गरिएको एउटा भिडियोलाई लिएर चीनभरि नै जन आक्रोश फैलिएको छ। अहिले चीनको सामाजिक सञ्जालमा भाइरल भइरहेको उक्त भिडियोमा सो केन्द्रका एकजना कर्मचारीले ती दुईवटै पान्डाको डमरुलाई घिसार्दै पसार्दै गरेको देखिन्छ।

चिनियाँ जनताले जनावरमाथिको क्रुरतालाई लिएर आलोचना गरिरहेका छन्। तर ती पान्डा हेरचाह गर्ने गुओ जिङपेङ नामक व्यक्तिले ती डमरु निकै आक्रामक र हिंसात्मक रहेको भन्दै सो कार्यबारे सफाइ पेस गरेका छन्। गुओले सरकारी समाचार निकाय सिन्ह्वालाई बताएका छन्– ‘त्यस भिडियोमा खाना खुवाउने क्रममा तिनीहरूले मलाई टोकेको चाहिँ देखाइएको छैन। मलाई एउटा डमरुले हातमा बेस्सरी टोकेको थियो। घाउबाट रगत नै बग्न थालेको थियो। अहिले पनि हातमा त्यस चोटको खत बाँकी नै छ। दोस्रो पटक टोक्न खोज्ने डमरुलाई मैले प्रतिरक्षा स्वरूप पर घच्याडेको कुरा सत्य हो। जुलाईको शुरुतिर खिचिएको उक्त भिडियो भाइरल भएपछि सबैले मलाई नै गलत ठहराएका छन्।’

गुओले स्थानीय सञ्चारमाध्यमलाई भनेका छन्– ‘अनलाइन समुदायले हामीले पान्डालाई माया नै गर्दैनौं भनी दाबी गर्यो। तर यस प्राणीलाई मनपराउने भएकाले नै हामीले यहाँ बसेर काम गर्ने निर्णय गरेका हौं। मैले पान्डालाई फाल्नुको कारण स्पष्ट गर्न खोजेको छु।’

चीनको प्रतीककै रूपमा लिइने पान्डा सरकारी तबरमा निकै संरक्षित प्रजाति हो। सिचुवान प्रान्तको चेंगदु पान्डा आरक्षण केन्द्र सरकारले सञ्चालन गर्दै आएको हो। सो केन्द्रले भने आफ्नो कर्मचारी गुओलाई टोके पनि चिथोरे पनि पान्डलाई कुनै नराम्रो व्यवहार नगर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्