गोसाइँकुण्डमा मेला



 

रसुवा, (नेस)
रसुवाको गोसाइँकुण्डमा रक्षाबन्धन (जनैपूर्णिमा)को अवसरमा ३ हजारभन्दा बढी तीर्थयात्रीले मेला भरेका छन्। जनैपूर्णिमाको अवसरमा यही साउन १० गतेदेखि लागेको मेलामा करिब ३ हजारले मेला भरेका हुन्।

मेला भर्न आएका तीर्थयात्रीले शुक्रबार नागपञ्चमीको अवसरमा राखी बाँध्ने तथा जनै फेर्ने कार्य गरेका छन्। साउन शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीदेखि शुरू भई साउन शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमासम्म मेला लाग्ने गरेकामा यो वर्ष भने नागपञ्चमीमा नै राखी बाँध्ने तथा जनै फेर्ने कार्य गरिएको हो।

गोसाइँकुण्ड जान नसक्नेले धुन्चेस्थित मिनिगोसाइँकुण्डमा समेत मेला भरेका छन्। यसअघि १० दिनसम्म मेला लाग्ने भए पनि यो वर्ष पूर्णिमाको दिन ग्रहण लाग्ने भएकाले नागपञ्चमीसम्म मात्र विशेष मेला लाग्ने समितिका अध्यक्ष सञ्जीव डीएमले बताउनुभयो। मेला भर्नका लागि तीर्थयात्री जनैपूर्णिमासम्म आउने भएकाले अहिले निर्माण भएका थर्पु र घोडा व्यवसायीलाई २३ गतेसम्म सेवा प्रवाह गर्न समितिले आग्रह गरेको छ।

यो वर्ष गोसाइँकुण्डमा करिब १० हजारले मेला भर्ने अनुमान गरिएको छ। गत वर्ष जनैपूर्णिमा मेलामा करिब ७ हजार ५ सयले मेला भरेका थिए।

मेलाको अवरसरमा तीर्थयात्रीलाई खान तथा बास बस्नका लागि अस्थायी थर्पु निर्माण गरिएको छ। तीर्थयात्री ठगीमा पर्नसक्ने सम्भावनालाई मध्यजनर गर्दै खाना, बास तथा घोडाका लागि निश्चित शुल्क निर्धारण गरिएको छ।

त्यसैगरी मेला अवधिभर तीर्थयात्रीको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसार्इंले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्