समिभञ्ज्याङ चिनाउन भिडियो



 

लमजुङ, (नेस)। लमजुङको मध्यनेपाल नगरपालिका ५ स्थित समिभञ्ज्याङ गाउँलाई चिनाउने उद्देश्यले तयार पारिएको मेरो मुटु समिभञ्ज्याङ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

प्रमुख अतिथि समिभञ्ज्याङका बासिन्दा तथा पाहार ट्रस्ट नेपालका अध्यक्ष चन्द्रबहादुर गुरुङले म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। सो अवसरमा समिभञ्ज्याङका भूगोल, प्रकृति, संस्कृति, कला, पर्यटनका विषयमा तयारमा पारिएको गीतका निर्देशक सुरज गुरुङलाई अनुपम विशेष सम्मानसमेत प्रदान गरियो। निर्देशक गुरुङले आफ्नो ठाउँका लागि केही गर्नुपर्छ भन्ने भावनाबाट प्रेरित भएर भिडियो निर्माण र निर्देशनमा जुटेको बताए।

रुपिन्द्र प्रभावीको रचना, सन्तोष प्रधानको संगीत तथा उनका साथमा जुनु रिजालको स्वर रहेको गीतको म्युजिक भिडियोमा राहुल थापा र अनुसा गुरुङले अभिनय गरेका छन् भने कोरियोग्राफी राहुल थापा र छायांकन पुष्कर थापाले गरेका छन्। म्युजिक भिडियोको समीक्षा गर्दे निर्देशक तथा नायक तेज गिरीले विकट गाउँको सुन्दर चित्रण भएको बताए। भिडियोका प्रस्तुतकर्ता अनुपम म्युजिकका प्रबन्ध निर्देशक अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा मोडल राहुल थापा, सम्झना माविका प्रधानाध्यापक मेमबहादुर गुरुङ, जनसांस्कृतिक महासङ्घ प्रदेश नं. ४ का इन्चार्ज मनकुमार श्रेष्ठ, गायक रामभक्त जोजिजूलगायतले शुभकामना व्यक्त गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्