८० हजार घूससहित मालपोत कर्मचारी समातिए



 

दयाराम पण्डित, बाजुरा
जिल्ला मालपोत कार्यालयबाट खटाइएका प्राविधिक कोपिलराज गिरी ८० हजार घूससहित रंगेहात पक्राउ परेका छन्। गिरी बुधबार बिहान पूजा बे्रकफास्ट एन्ड खाजाघरमा सेवाग्राहीबाट घूस लिँदै गर्दा पक्राउ परेका हुन्। मुक्त हलिया पुनःस्थापना कार्यक्रमअन्तर्गतको घर मर्मत कार्यक्रमबाट कमिसनबापतको घूस लिँदै गर्दा प्रहरीले सुराकीको आधारमा रंगेहात पक्राउ गरेको प्रहरी निरीक्षक जगदीशचन्द्र भट्टले बताए।

चिया खाने बहाना बनाएर गिरी पूजा ब्रेकफस्ट एन्ड खाजाघरमा मुक्त हलिया अगुवा गोरख सार्की सँगै गए र सार्कीबाट घूस लिँदै गर्दा प्रहरीसहित पत्रकारको टोली पुगेको र सोही अवस्थामा घूस लिने र दिने दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्राविधिक गिरीले मुक्त हलिया अगुवा सार्कीलाई प्रत्येक सेवाग्राही मुक्त हलियाबाट चेक संकलन गर्न लगाएको र उक्त रकम सार्कीले एकमुष्ट दिन खोजेका थिए। मुक्त हलिया अगुवा सार्कीकै योजनाअनुसार कसिमन घूस माग्ने कर्मचारी गिरी पक्राउ परेको प्रहरीले बताएको छ।

जिल्लाको पूर्वीउत्तरी क्षेत्रका साविक १० गाविसमा मुक्त हलिया पुनःस्थापनाका कार्यक्रमअन्तर्गत घर मर्मतका लागि मात्र ५ करोड ४० लाख रुपियाँ विनियोजन गरिएको थियो। प्रति परिवार १ लाख २५ हजारका दरले ४ सय ३२ परिवारका लागि उक्त रकम वितरण गरिएका हो।

पक्राउ पछि दुवै जनासँग प्रहरीले गरेको सोधपुछका आधारमा कोपिलराज गिरीले घर मर्मतअन्तर्गत मात्र २४ लाख ६० हजार बढी कमिसनको माग गरिएको बुझिएको छ। यस्तो कमिसनबापतको रकम १ हजार प्रति व्यक्तिबाट घर मर्मत पूर्व नै लिइसकेको पाइएको छ। यसअघि ४५ परिवारबाट प्रति परिवार १ हजार घूस लिएको पक्राउ परेका सबओभरसियर कोपिलराज गिरीले स्वीकार गरेका छन्। सबओभरसियर गिरीले प्रति परिवार थप ५ हजार माग गर्दा नदिएपछि मुक्त हलियाबाट ३ हजारको चेक काट्न लगाइएको थियो। मालपोत कार्यालय प्रमुख हीरालाल गिरीले तीन हजारको चेक काट्न भनेर कागजमा चिट लेखेर दिएको प्रमाणसमेत फेला परेको प्रहरीले बताएको छ।

मुक्त हलियाले पैसा नदिएपछि कार्यालय प्रमुख गिरी २ पटक गोरख सार्कीको घरमा पुगेको र रकम दिन दबाब दिएको गोरख सार्कीले दाबी गरेका छन्। घर मर्मत कार्यमा सघाउन मालपोत कार्यालयले कोपिलराज गिरी, हंश नेपाली, देवेन्द्र शाहीलाई काममा खटाएको थियो। जिल्लामा २०७० सालदेखि मुक्त हलिया पुनःस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ। यो वर्ष मात्र १० करोड बढी रकम जिल्लामा आएको थियो। त्योमध्ये ७ करोड बढी खर्च भएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्