राजपाका केन्द्रीय नेता नै फरार सूचीमा



 

बीपी साह, काठमाडौं
तेस्रो मधेस आन्दोलनका क्रममा टीकापुरलगायत विभिन्न ठाउँमा भएका घटनामा संलग्न रहेको भन्दै सरकारले २ सय ६ वटा मुद्दा दर्ता गरेको थियो। जसमा ६ सय ८२ जना आन्दोलनकारी मुछिएका छन्। दुई सय ६ मध्ये १ सय ४० वटा मुद्दाको छिनोफानो गरी २ सय ५१ जना आन्दोलनकारीले सफाइ पाइसकेका छन्।
तेस्रो मधेस आन्दोलनका गम्भीर घटनामध्येका ६६ वटा मुद्दाको छिनोफानो गर्न बाँकी रहेको छ। छिनोफानो गर्न बाँकी रहेका ६६ वटा मुद्दामा ४ सय ३१ जना आन्दोलनकारी मुछिएका छन्।

नेपाल समाचारपत्रलाई प्राप्त जानकारीअनुसार ६६ वटा मुद्दामध्ये ५२ वटा मुद्दाका २ सय ७२ जना अहिले पनि फरार सूचीमा रहेका छन्। तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र हाल राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका पदाधिकारीहरू पनि फरार सूचीमा रहेका छन्।

मुद्दा फिर्ता हुने छलफलका क्रममा गम्भीर प्रकृतिको मानिएको टीकापुर घटनामा राजपाका केन्द्रीय सचिव रेशम चौधरीसहितका पदाधिकारीहरू फरार सूचीमा रहेका छन् भने जलेश्वरमा प्रहरी हत्याको घटनामा संलग्न रहेका महासचिव देवेन्द्र यादवसहितका नेताहरू फरार सूचीमा रहेका छन्।

राजपाका पदाधिकारीमाथि अधिकांश लुटपाट तथा सार्वजनिक अपराधको मुद्दा लगाइएको महान्यायाधिवक्ता कार्यालय स्रोतले जनाएको छ। जलेश्वरमा प्रहरी मारिएको घटनामा राजपाका अधिकांश केन्द्रीय पदाधिकारी परेका छन्। संघीय समाजवादी फोरम नेपालका केही नेताहरू पनि फरार सूचीमा रहेका छन्।

गत साता सरकारले तीन दिनभित्र मुद्दा फिर्तालगायतको काम पूरा गर्ने प्रतिबद्धता राजपालाई दिएको थियो। तर त्यस अवधिमा कुनै माग पूरा भएको छैन। मुद्दा फिर्ताका विषयमा महान्यायाधिवक्ताको कार्यलयमा छलफल जारी रहेको छ। अहिले जिल्लाहरूबाट थप जानकारी ल्याउने र फरार सूचीमा रहेका नेताहरूलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराउने कार्य भइरहेको महान्यायाधिवक्ता कार्यालयले जनाएको छ।

यता राजपाका महासचिव केशव झाले मुद्दा फिर्ताका विषयमा छलफल जारी रहेको बताउँदै नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘अहिले सबै मुद्दाको टुंगो लागेको छैन। छलफल जारी रहेको छ। केही दिनभित्रै सबै मुद्दाको छिनोफानो हुने गरी छलफल चलेको छ।’

राजपाका अर्का महासचिव मनिष सुमनले हालसम्म फिर्ता भएका मुद्दामध्ये केही थान मात्र आफूहरूसँग सम्बन्धित रहेको बताउनुभयो। उहाँले सुरक्षा निकायले आ–आफ्नो बचाउका लागि केही मुद्दाहरू फिर्ता लिएको दाबी गर्नुभयो।

गम्भीर बन्दै टीकापुर र जलेश्वर घटना
टीकापुर घटनाको मुद्दा फिर्ता तत्काल नहुने भएको छ। राजपा र सरकारबीच जारी छलफलमा पहिले अन्य मुद्दाहरूलाई किनारा लगाउने त्यसपछि मात्र टीकापुर र जलेश्वर घटनाको विषयमा छलफल गर्ने सहमति बनेको छ। तर राजपाका नेताहरूले सबै मुद्दा एकै पटक छिनोफानो हुने पर्ने अडान लिँदै आएका छन्। टीकापुर घटनामा मुछिएकालाई उन्मुक्ति नदिन सुरक्षा निकायबाट व्यापक दबाब आइरहेको वार्तामा सहभागीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्