आमा सुरक्षा कार्यक्रमको रकम हिनामिना गरेका चार स्वास्थ्यकर्मी निलम्बित



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीका चार जना स्वास्थ्यकर्मी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गराएपछि आमा सुरक्षा कार्यक्रमको रकम हिनामिना गरेका चार जना स्वास्थ्यकर्मी निलम्बनमा परेका हुन् ।

निलम्बित हुनेहरुमा प्राथमिक स्वास्थ्य केन्द्र सम्सीका तत्कालीन निमित्त कार्यालय प्रमुख सिनियर अहेव कमल किशोर ठाकुर, सिनियर अहेव शिवशंकर यादव, सोही स्वास्थ्य केन्द्रका अनमीहरु किरण कुमारी ठाकुर र विन्दु देवी साह रहेका छन् ।
आमा सुरक्षा कार्यक्रम अन्र्तगत आ.ब. ०६८।०६९ मा चारै जना स्वास्थ्यकर्मीहरुले निकासा भएको करिब २ लाख ५० हजार रुपैया अनियमितता गरेको अख्तियारको दावी छ । सो चारै जना स्वास्थ्यकर्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा आरोप पत्र दायर गरेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १७ अनुसार उनीहरुको मुद्दाको टुंगो नलागेसम्म अवधिभरको लागि निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असार १५ को निर्णय अनुसार भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १७ द्वारा विशेष अदालत, काठमाडौंमा मंगलबार मुद्दा दर्ता गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्