राजधानीमा १४ कलाकारका कला



 

काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस्, सेन्टर फर आर्ट एन्ड डिजाइनमा कला विषयमा स्नातक गरेका १४ विद्यार्थीका कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा सम्पन्न भएको छ। स्टुडियो आर्ट र ग्राफिक कम्युनिकेसन विषयमा अध्ययनरत् कला विद्यार्थीले तयार पारेका कलाले नेपाली समाजको समसामयिक सन्दर्भलाई कलात्मकरूपमा उठाएका छन्।

प्रदर्शनीको शुभारम्भ विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ मकाजु श्रेष्ठ र नेपालका लागि फ्रान्सका राजदूत इभस् कारमोनाले संयुक्तरूपमा गरेका थिए। नेपाली कलामा नयाँ पुस्ताका कलाकारले राम्रा कलाकृति बनाउँदै गएको नेपालका लागि फ्रान्सका राजदूत कारमोनाले चर्चा गरे। कला र संस्कृति मानव जीवनको मेरुदण्ड भएकाले यसको विकासमा काठमाडौं विश्वविद्यालयले काम गरिरहेको उपकुलपति मकाजुले बताए। स्कुल अफ आर्टस्का डीन डा. सागरराज शर्माले कलाले समाजलाई जोड्ने भएकाले नेपाली समाजको प्रतिबिम्बका रूपमा प्रदर्शनीमा राखिएका कला रहेको चर्चा गरे।

प्रदर्शनीमा पुष्पा पराजुली, वर्षात् वे कार्की, कञ्चन तामाङ, निलम भुर्तेल, राजकुमार राई, राजा महर्जन, सरला मानन्धर र युनिशा श्रेष्ठले स्टुडियो आर्टअन्तर्गत बनाएका कला राखिएको छ। त्यस्तै एलिना मानन्धर, विशेषता धाख्वा, ज्योति श्रेष्ठ, नुरिशा सिंह, सम्भव महर्जन र श्रेया श्रेष्ठले ग्राफिक कम्युनिकेशनअन्तर्गत प्रोडक्ट डिजाइन, ज्वेलरी डिजाइनलगायतका कला प्रदर्शनीमा थियो।

हिजो सोमबारसम्म जारी प्रदर्शनीमा कलाकारले सांस्कृतिक, सामाजिक, लैंगिक, समानता, सपनालगायतका विषयमा कलाकृति रचना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्