पुस्तकालयका लागि किताब संकलन गर्दै युवा



 

जयकुमार महर्जन, काठमाडौं
मुलुकको दुर्गम भेगमा पुस्तकालय स्थापना गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमा क्रियाशील केही युवाहरूले किताब संकलन गर्ने अभियान शुरू गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा क्रियाशील युवाहरूको समूह मेन्स् रूम रिलोडेड (एमआरआर)ले नेपालका दुर्गम भेगहरूमा निःशुल्क पुस्तकालय स्थापना गर्नका लागि देशव्यापीरूपमा किताब संकलन गर्ने कार्यको थालनी गरेको हो।

दुर्गम क्षेत्रका बालबालिकालाई लक्षित गरी शुरू गरिएको यो अभियान देशैभरि सञ्चालन गरिएको एमआरआले जनाएको छ। संकलन गरिएका किताबहरू नेपालका विभिन्न भेगमा स्थापना गरिने पुस्तकालयमा राखिने लक्ष्य रहेको किताब संकलन अभियानका सदस्य सन्देश लम्सालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

उहाँका अनुसार हाल काठमाडौं उपत्यकालगायत अन्य जिल्लाबाट पनि धमाधम किताब संकलन गर्ने कार्य भइरहेको बताउनुहँुदै यो अभियान शुरू भएसँगै धेरै जनाले स्वैच्छाले किताब उपलब्ध गराएको बताउनुभयो। पुस्तकालय स्थापना भएपछि धेरैले निःशुल्करूपमा पुस्तकालयको प्रयोग गर्न सकिने बताइएको छ। साथै शिक्षाबाट वञ्चित भएका बालबालिकालगायत अन्य सबैमा ज्ञानको विकास हुने आशा गरिएको छ।

एमआरआरका संयोजक तथा किताब संकलन अभियानका अर्का सदस्य अभिनाश घिमिरेले किताब संकलन कार्य तीव्र गतिमा अघि बढ्दै गरेको बताउनुहुँदै यस अभियानमा सबैले आफूसँग भएका कुनै पनि किताब दिई सहयोग गर्न अनुरोध गर्नुभयो।

उहाँले आफूसँग भएका कुनै पनि पाठइ्पुस्तक वा साहित्यसँग सम्बन्धित किताबहरू उपलब्ध गराउन सकिने बताउनुभयो। उहाँले विशुद्ध मनकारी भावनाले शुरू गरिएको यो अभियानलाई सबैले सक्दो सहयोग गरी शिक्षाको ज्योति छर्ने महान् अभियानमा सहभागी हुन सबैमा आह्वान पनि गर्नुभयो।

हाल एमआरआरले काठमाडौं, पोखरा, बुटवललगायत यसका सदस्यहरू रहेका अन्य शहरहरूमा पनि किताब संकलन कार्य गरिरहेको छ। आफ्नो स्वैच्छाले किताब उपलब्ध गराउन चाहनेले ९८४३६७११८७ मा सम्र्पक गरेर किताब उपलब्ध गराउन सक्नुहुनेछ।
समूहले यसै अभियानका लागि केही समयअघि काठमाडौंमा चलचित्र धनपतिको च्यारिटी शोको अयोजना पनि गरेको थियो। उक्त च्यारिटी शोबाट करिब ३५ हजार रुपियाँ संकलन भएको थियो। उक्त संकलित रकमबाट पोखरास्थित अनाथ आश्रममा रहेका बालबालिकाहरूलाई शैक्षिक सामग्री प्रदान गरिएको थियो।

एमआरआरले बुटवलमा पनि चलचित्रको च्यारिटी शोको आयोजना गरिएको छ। उक्त शोबाट उठेको रकम पनि किताब खरिद गर्न प्रयोग गरिने बताइएको छ।
किताबको पहँुच नपुगेका दुर्गम भेगमा किताब पुर्याई शिक्षाको ज्योति बाल्ने यस अभियानलाई धेरैले प्रशंसा गर्दै सहयोगको ओइरो लागेको छ।

यस अभियानबाट संकलन गरिएका किताबले दुर्गम तथा किताबको पहुँच नपुगेका ठाउँकाहरूले ज्ञानको ज्योति प्राप्त गर्न सकिने भएकोले यो महान् अभियानमा सहभागी भई किताब दान गर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्