भोजपुर घटनाको अनुसन्धान हुन्छः गृहमन्त्री



 

नेपाल समाचारपत्र
काठमाडौं
गृहमन्त्री जनार्दन शर्माले भोजपुरमा तीन बालबालिका मृत अवस्थामा फेला परेको घटनाबारे अनुसन्धान गर्न सम्पूर्ण शक्ति र प्रविधि परिचालन गरिएको बताउनुभएको छ। बुधबार संसद्को राज्य व्यवस्था समितिको बैठकमा बोल्दै मन्त्री शर्माले भोजपुरको अरुण गाउँपालिका–३ प्याउलिमा गत असार १२ गते घटेको घटनाका सन्दर्भमा सम्पूर्ण शक्ति र प्रविधि प्रयोग गरेर अनुसन्धान अगाडि बढेको बताउनुभयो ।

‘सम्पूर्ण शक्ति र प्रविधि लगाएर अनुसन्धान गर्नका लागि निर्देशन दिइएको छ, त्यसैअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढेको छ’, उहाँले भन्नुभयो– ‘भोजपुरको घटना निर्मम भएकाले कुनै पनि सर्तमा त्यसको अनुसन्धान हुनुपर्छ।’

अरुण गाउँपालिकास्थित प्याउलीमा गत असार १२ गते बिहान ३ जना बालबालिका मृत अवस्थामा फेला परेका थिए। उक्त घटनाको अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन गरिएको र उक्त कुकुर निश्चित स्थानमा पुगेर फर्किएको बारे समितिका सदस्य रामेश्वर फुयालले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले भन्नुभयो– ‘कुकुर फर्किएको तथ्यबारे मैले बुझेको थिएँ, अनुसन्धान गर्दै जाँदा एक ठाउँमा पुग्नु र फर्कनु सन्दर्भको कुरा मात्र हो, घटनाको सन्दर्भमा कुकुर फर्किएको हैन।’ समितिको बैठकमा यातना दिने तथा निर्मम अमानवीय अपमानजनक व्यवहार गर्ने कार्यलाई नियन्त्रण गर्ने सम्बन्धमा बनेको विधेयक बारे छलफल भएको छ।

प्रतिक्रिया दिनुहोस्