लक्ष्यभन्दा २४ अर्ब बढी राजस्व संकलन



 

नेपाल समाचारपत्र
काठमाडौं
आर्थिक वर्ष २०७३⁄०७४ मा २ खर्ब ५८ अर्ब १७ करोड ४९ लाख ८५ हजार रुपियाँ आन्तरिक राजस्व संकलन भएको छ। राजस्व संकलन लक्ष्यभन्दा २४ अर्ब ५७ करोड ३४ लाख रुपियाँ बढी हो। संकलित रकम अघिल्लो आर्थिक वर्षको भन्दा २६ प्रतिशतले बढी हो।

आर्थिक वर्ष २०७३⁄०७४ असार महिनासम्मको राजस्व संकलनको लक्ष्य २ खर्ब ३३ अर्ब ६० करोड १५ लाख १७ हजार रुपियाँ रहेको लक्ष्यभन्दा ११ प्रतिशत राजस्व संकलन भएको हो।

आन्तरिक राजस्व विभागमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक किशोरजंग कार्कीले सो जानकारी दिनुभएका हो।
शीर्षकगत रूपमा हेर्दा आयकरतर्फ १ खर्ब ४८ अर्ब २३ करोड ६० लाख ८६ हजार, मूल्य अभिवृद्धि कर ६१ अर्ब १२ करोड ३ लाख ८५ हजार र अन्तःशुल्क तर्फ ४७ अर्ब २१ करोड ५४ लाख २३ हजार संकलन भएको विभागले जनाएको छ। सो राजस्व रकम लक्ष्यको तुलनामा आयकरतर्फ १६ प्रतिशत, मूल्य अभिवृद्धि करतर्फ ३ प्रतिशत र अन्तःशुल्कतर्फ ५ प्रतिशत बढी हो।
त्यसै गरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा कर क्रमशः ७३ करोड ९७ लाख २५ हजार र ८६ करोड ३३ लाख ६६ हजार संकलन भएको छ। शिक्षा सेवा शुल्कतर्फ लक्ष्यभन्दा २ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यभन्दा ११ प्रतिशत कम हो।

गत वर्षको तुलनामा आयकर वृद्धिदर २७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर २३ प्रतिशत, अन्तःशुल्कको वृद्धिदर ३० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर २० प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर ३१ प्रतिशत रहेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७३⁄७४ को वार्षिक लक्ष्यभन्दा ११ प्रतिशतले बढी राजस्व संकलन गर्न सफल भएको जनाएको छ।

महानिर्देशक कार्कीले काठमाडौं उपत्यकाभित्रका ठूला करदाता कार्यालय, सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखलाई निर्देशन दिनुहुँदै बितेको आर्थिक वर्षमा चुनौतीपूर्ण लक्ष्य पूरा भएकोमा बधाई दिनुभयो।
उहाँले आन्तरिक राजस्व विभागलाई चालु आर्थिक वर्षका लागि करिब ३ खर्ब राजस्व संकलन गर्नुपर्ने लक्ष्य तोकिएकाले सो चुनौती पूरा गर्नका लागि आजैबाट सक्रिय भएर लागिपर्न निर्देशन दिनुभयो।

प्रतिक्रिया दिनुहोस्