भारतीय युवतीको मसानघाटमा व्यवसाय



 

नयाँदिल्ली, (एजेन्सी)
अचेल अनलाइन व्यापारको कारण मानिसहरूले आवश्यक धेरै सामान घरमै बसीबसी अर्डर गरी प्राप्त गर्ने गरेको र भोज भतेरका लागि क्याटरिङलाई जिम्मा दिएर मानिसहरू अनावश्यक झमेला र चिन्ताबाट मुक्त हुने गरेको त हामीले हेर्दै र भोग्दै पनि आइरहेका छौं।

तर मानिसले नाम सुन्नेबित्तिकै तर्सने स्थान मसानघाटमा समेत आफ्नो व्यापार व्यवसाय चलाएर भारतकी एक युवतीले सबैलाई चकित पारेकी छिन्। भारतको हैदरावादकी श्रुति रेड्डी नामकी ती युवती दिनहुँ मसानघाटमा पुग्छिन्।

मसानघाट धाउनु उनको रुचि मात्र होइन, व्यवसाय नै हो। यसअघि ३१ वर्षीया श्रुति सफ्टवेयर इन्जिनियरको रुपमा काम गर्थिन्। तर अहिले भने हरेक दिन मसानघाट पुग्नु उनको नित्यकर्म बनेको छ। वास्तवमा उनले मसानघाटमा मृतकको अन्त्येष्टि कार्य गर्ने सेवा शुरू गरेकी छिन्।

यो पेसा शुरू गर्दा उनलाई साथ दिने कोही थिएन। घर परिवार त उनको त्यो निर्णय सुनेर नै आत्तिएका थिए। उनकी आमा त रिसाएर महिनासम्म उनीसँग बोलिनन् पनि। तर श्रुति भने अन्यले भन्दा केही पृथक् काम गर्न चाहन्थिन्। यही उद्देश्य लिएर उनले एउटा कम्पनी खोलिन्। आफ्नो हजुरबाको निधन हुँदा अन्तिम संस्कारका लागि आवश्यक सामग्री जुटाउन निकै कठिनाइ परेकाले नै उनले यस्तो व्यवसाय शुरू गर्ने निर्णय गरेकी हुन्। श्रुतिले मृत्यु संस्कारसँग सम्बन्धित सुविधाहरू उपलब्ध गराउने कम्पनी खोलेकी छिन्।

बजारमा बिहेलगायतका शुभकार्यको इभेन्ट म्यानेजमेन्ट गर्ने विभिन्नखाले कम्पनी खुलेका भए पनि मृत्यु संस्कार व्यवस्थापनको क्षेत्रमा भने सायद श्रुतिको प्रयास नै पहिलो हुनसक्ने बताइएको छ। मृतक परिवारको फोनको भरमा उनको कम्पनीले मसानघाटसम्म सम्पूर्ण आवश्यक सेवा पुर्याउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्