एसएसपी खनालको प्राथमिकता प्रभावकारी ट्राफिक व्यवस्थापन



 

नेपाल समाचारपत्र
काठमाडौं
प्रहरीले महानगरीय ट्राफिक महाशाखामा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सर्वेन्द्र खनाललाई पठाएको छ। ट्राफिक प्रहरीको कारबाही प्रभावकारी नभएको भन्दै गुनासो बढेपछि महाशाखा प्रमुखमा एसएसपी खनाललाई पठाइएको हो।
राजधानी काठमाडौंमा दैनिक दस लाख सवारीसाधनको आवतजावत हुने गरेको छ। काठमाडौंमा १६ सय किलोमिटर मात्र सडक रहेको छ। साँघुरो सडक, सडकको दायाँबायाँ फुटपाथ नहुनु, अत्यधिक सवारी साधन हुनु नै जामको मुख्य कारण रहेको छ।

ट्राफिक महाशाखाको जिम्मेवारी सम्हाल्नुभएका एसएसपी सर्वेन्द्र खनालले प्रभावकारी ट्राफिक व्यवस्थापन गर्ने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘योजना बनाएर नै राजधानीको ट्राफिक व्यवस्थापन हुन्छ।’ उहाँले सरोकारवाला सबै पक्षसँग परामर्श गरेर केही समयभित्र नै योजना बनाएर नै काम गर्ने बताउनुभयो। ‘ट्राफिक व्यवस्थापन गर्नका लागि उच्चतम प्रविधिको प्रयोग गरिन्छ’, एसएसपी खनालले भन्नुभयो– ‘दृढताको साथ राजाधानीको ट्राफिक व्यवस्थापनको काममा लाग्छौं।’ राजधानीका केही स्थानमा मात्र अहिले सिसी क्यामेराबाट ट्राफिक व्यवस्थापनको अनुगमन हुँदै आएको छ।

राजधानीमा बढ्दो जामको कारण सर्वसाधारणको दैनिकी नै कष्टकर बन्दै गएपछि सरकारले केही साताअघि मात्रै चक्रपथमा बिहान साढे ७ देखि साढे १० बजेसम्म दिउँसो साढे ३ देखि साढे ६ बजेसम्म ट्रक, ट्रिपर मिनी ट्रक गुड्न नपाउने व्यवस्था साउन १ गतेदेखि लागू गरेको थियो। सरकारले बढ्दो ट्राफिक व्यवस्थापन गर्नका लागि चक्रपथभित्र साँझ ८ बजेदेखि बिहान ६ सम्म गुडन पाउने नियम यस अघिदेखि नै लागू गरिरहेको छ।

तर पनि ट्राफिक जाम अत्यधिक हुने गरेको छ। विशेष गरी राजधानी काठमाडौं बाहिरबाट राजधानी भित्रिने मुख्य चोकहरूमा जाम हुने गरेको छ। कलंकी, बल्खु, गोंगबु, चाबहिल, कोटेश्वरलगायतका क्षेत्रमा अत्यधिक जाम हुने गरेको छ।
प्रहरी प्रवक्ताको जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएका खनाल ११ डीआईजीको बढुवा सूचीको पहिलो नम्बरमा पर्नुभएको छ। अपराध महाशाखाबाट सरुवा भएपछि एसएसपी खनाल प्रहरीको प्रवक्ताका रुपमा कार्यरत हुँदै महाशाखाको जिम्मेवारीमा रहनुभएको थियो। महाशाखामा रहनुभएका नायक महानिरीक्षक (डीआईजी) मिङमार लामालाई हटाएर खनाललाई ल्याइएको हो।

ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी लोकेन्द्रबहादुर मल्लले राजधानीमा दैनिक दस लाख सवारी साधन आवतजावत गर्ने बताउनुभयो। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘ट्राफिक व्यवस्थापनका लागि अहिले १३ सय मात्र जनशक्ति छ, पाँच सय जनशक्ति माग गरेका छौं।’ यातायात व्यवस्था विभागका अनुसार देशभर २३ लाख सवारी साधान रहेका छन्।

प्रतिक्रिया दिनुहोस्