विद्यार्थी पढ्ने कक्षाकोठा गाईगोठमा परिणत



 

दीपेन्द्र शर्मा, जाजरकोट
विद्यालयको लापरबाहीले गर्दा विद्यार्थी पढ्ने कक्षाकोठाहरू गाईगोठको रूपमा परिणत भएका छन्। जंगलमा खुला छोडिएका बस्तुले गर्दा जाजरकोटको कुशे गाउँपालिका–५ बाटुलेचौरमा रहेको सरस्वती प्राथमिक विद्यालयको विद्यार्थी पढ्ने कक्षाकोठाहरू गाईगोठको रूपमा परिणत भएको हो।

चरणका लागि जंगलमा छोडिएका गाई–गोरुहरू विद्यालयको कक्षाकोठमा वस्ने गरेका छन्। विद्यालयको चरम लापरबाहीका कारण खुला छोडिएका पशुचौपायहरूले उक्त विद्यालयलाई आफ्नो चरण क्षेत्र र बासस्थान बनाएका हुन्। विद्यार्थीले पढ्ने कोठाहरू गाईगोठको रूपमा परणत हुँदा यहाँका विद्यार्थीको पढाइसमेत प्रभावित भएको छ।

विद्यालयमा विद्यार्थी बसेर पढ्ने कक्षाकोठाहरूमा ढोका पल्ला र घेराबार नहुँदा विद्यालयमा गाईबस्तुको चरणक्षेत्र र बासस्थान बनेको छ। बालबालिका पढ्ने पवित्रस्थल विद्यालयमा गाईबस्तुको बासस्थान हुँदा सम्बन्धित पक्षको ध्यान जानसकेको छैन। विद्यालय जस्तो संवेदनशील सार्वजनिकस्थलमा गाईबस्तुले, आफ्नो गोठ बनाउँदा विद्यालयका कक्षाकोठामा फोहरका खाडल भएका छन्।

वर्षात्को समयमा, झरिपर्ने र भवन जीर्ण भएर चुहिने समस्याले गर्दा झ्याल, ढोका सडेर पशुचौपाया भित्र छिरेको विद्यालयका विद्यालाय व्यवस्थापन समितिका अध्यक्ष शक्तिबहादुर थापाले बताए। अब विद्यालय व्यवस्थापन समितिको बैठक बसी विद्यालयका कक्षाकोठालाई मर्मत सम्भार गरेर गाईगोठका रूपमा कक्षाकोठालाई बनाउने अवस्था दोहोरिन नदिने जानकारी दिए।

विद्यालयको गैरजिम्मेवारिपन तथा भवन जीर्ण भएकै कारणले विद्यालयका कक्षाकोठामा ढोकापल्ला नलगाउँदा गाईबस्तु विद्यालयमा बस्ने गरेको जाजरकोटका जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहले बताए। यस विषयमा तत्काल विद्यालय व्यवस्थापन समिति र विद्यालयमा कार्यरत शिक्षकहरूलाई सोधपुछ गरी विद्यालयमा भएको फोहरलाई हटाउन पहल गरिएको जानकारी दिए।
विद्यार्थी बस्ने कक्षाकोठामा फोहर हँुदा विद्यालयमा पढाइ सुचारु हुन नसकेको अभिभावक कर्णबहादुर थापाले बताए। ‘साउन ५ गतेबाट जाजरकोटका विद्यालयमा पढाइ सञ्चालन गर्न जिल्ला शिक्षा कार्यालयले जाजरकोट जिल्लाका सबै विद्यालयलाई निर्देशन गरिसकेको छ, यो अवस्थामा कुशे गाउँपालिका–५ बाटुलेचौरमा रहेको सरस्वती प्राथमिक विद्यालयका विद्यार्थी कसरी गाईको गोबरले भरिएको कक्षाकोठामा पढ्न सक्छन’ –उनले भने। सार्वजनिक सम्पत्तिप्रति स्थानीय समुदायले बेवास्ता गर्दा विद्यालयका कक्षाकोठा गाईगोठको रूपमा परिणत भएको थापाले बताए।

प्रतिक्रिया दिनुहोस्