महोत्तरीमा पहिलोपटक विशेष शिव आरती शुरू



 

लक्ष्मीकुमार साह, महोत्तरी
महोत्तरी जिल्लाको प्रसिद्ध जलेश्वरनाथ महादेव मन्दिरमा सोमबारदेखि पहिलोपल्ट विशेष शिव आरती शुरू गरिएको छ।

सोमबारीको अवसर पारेर खानेपानी स्वच्छता तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीको अगुवाईमा जिल्लामा पहिलोपटक विशेष शिव आरतीको आयोजना गरिएको हो।

धार्मिक तथा पौराणिक महत्त्वको जलेश्वरनाथ महादेव मन्दिरको प्रांगणमा खानेपानी स्वच्छता तथा सरसफाई डिभिजन कार्यालय महोत्तरीका कार्यालय प्रमुख इन्जिनियर देवेन्द्र झासहित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू तथा नगरपालिकाका प्रमुखले धार्मिक विधिवत् शिवको पूजा–अर्चना गरी विशेष शिव आरतीको शुभारम्भ गर्नुभएको हो।

जलेश्वरनाथ महादेवको शिवलि·को पूजापाठका लागि आवश्यक मानिएको पुरन्दर पोखरी (गोरधोई पोखरी, महादेव दर्शनपूर्व हात–खुट्टा धुने पोखरी) मा सञ्चालित विशेष शिव आरती नियमित चलिरहने बताउँदै उनले शिव आरती प्रत्येक दिन सन्ध्याकालीन ४५ मिनेट हुने जानकारी गराए। उनले भविष्यमा चाँडै जलेश्वरनाथ मन्दिर पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताउँदै इन्जिनियर झाले अझै गर्नुपर्ने कामहरूलाई निरन्तरता दिने जानकारी दिए।

पुरन्दरलगायत वरुण सर पोखरीमा स्नान गरेर जलेश्वरनाथको पूजा–अर्चना गरे मन पवित्र हुने तथा धार्मिक मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ।

सो विशेष शिव आरतीमा जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, खानेपानी स्वच्छ तथा सरसफाई डिभिजन कार्यालका कार्यालयका प्रमुख देवेन्द्र झा, जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी युवराज पौडेल, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालय महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र जलेश्वर नगरपालिकाका निमित्त कार्यालय प्रमुख पवनकुमार झाले संयुक्तरूपमा विधिवत् पूजा–अर्चना गरी विशेष शिव आरती शुरू गरेका थिए।

विशेष आरतीका लागि घाट निर्माणको शिलान्यास यही जेठ ७ गते संयुक्तरूपमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव, खानेपानी स्वच्छ तथा सरसफाई डिभिजन कार्यालयका कार्यालयका प्रमुख देवेन्द्र झा, फस्ट राइफल गणका गणपति कृष्ण खड्का क्षत्री, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरीक्षक प्रकाश श्रेष्ठ र जनकपुर गंगा आरतीका मुख्य अभियन्ता रामअशिष यादवले गरेका थिए।

खानेपानी स्वच्छ तथा सरसफाई डिभिजन कार्यालका कार्यालयका प्रमुख देवेन्द्र झाले खानेपानी तथा सरसफाई मन्त्रालयबाट ५० लाख र खानेपानी कार्यालय महोत्तरीबाट ५० लाख गरी जम्मा १ करोड रकम जलेश्वरनाथ मन्दिरको गेट र पोखरीको घाट निर्माणका लागि उपलब्ध गराएको बताए। घाटमा घेरावाल निर्माण, गार्डेन बाल, फाउन्डेसन र नाला निर्माण गरिने कार्य दु्रत गतिमा भइरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्