विवादास्पद टापुमा चिनियाँ सिनेमा हल



बेइजिङ, (एजेन्सी)
आखिर मानिस भएपछि जहाँ बसे पनि मनोरञ्जनको त जरुरत नै हुन्छ। त्यसैले चीनले विवादास्पद दक्षिण चिनियाँ सागरमा केही दिनअघि मात्र एउटा सिनेमा हल खोलेको छ।

विवादस्पद पारासेल टापु समूहकै सबैभन्दा ठूलो वुडी टापुस्थित सान्सा शहरमा चीन सरकारले सिनेमाहल सञ्चालमा ल्याएको चिनियाँ आधिकारिक सरकारी समाचार निकाय सिन्≈वाले जनाएको छ।

पारासेलबाटै चीनले सो क्षेत्रको प्रशासनिक कार्य सञ्चालन गर्दै आएको छ। त्यहाँ थुपै्र चिनियाँ ब्यारेकहरू पनि सञ्चालित छन्। सिन्≈वाका अनुसार पहिलो दिन सान्सा यिन्लोंग सिनेमामा सेना र स्थानीय बासिन्दा गरी २ सय जनाभन्दा बढीलाई ‘दि इटर्निटी अफ युलु’ नामक चलचित्र देखाएको थियो।

सिन्≈वाले त्यहाँ रहेका करिब २ हजार चिनियाँलाई पुरापुर मनोरञ्जन दिने उद्देश्यले उक्त नयाँ थिएटरमा कम्तीमा दिनको एउटा चलचित्र प्रदर्शन गरिने जनाएको छ।

खि साउथ चाइना मोर्निङ पोस्टले पोर्टेबल डिजिटल प्रोजेक्टरहरू प्रयोग गरी थप टापुमा पनि निःशुल्क चलचित्र प्रदर्शन गर्ने योजना रहेको स्पष्ट पारेको छ। चाइना ग्लोबल टेलिभिजन नेटवर्कले स्थानीय निकायहरूको विवादास्पद टापुहरूमा सामुदायिक सेवा स्थापना गर्ने उद्देश्यले यसरी सिनेमा हल खोलिएको जनाएको छ।

गत वर्षको अप्रिलमा चीनले सान्सामा एउटा सार्वजनिक पुस्तकालय र रंगशाला पनि स्थापना गरेको थियो। स्थानीय बासिन्दाको जीवनशैली उकास्ने हिसाबले सो रंगशालामा अहिले सांस्कृतिक कार्यक्रमहरूको आयोजना हुने गरेको छ।

चिनियाँ सञ्चारमाध्यमले चीनकै सबैभन्दा पछिल्लो शहरको दर्जा दिइसकेको सान्सामा एउटा विद्यालय, प्रहरी चौकी र अदालत पनि रहेको बताइएको छ। तर यो खुसीको खबर भियतनाम र ताइवानमा भने अप्रिय खबर सावित भएको छ। किनभने ती दुवै राष्ट्रले पनि यो क्षेत्रमाथि आफ्नो स्वामित्व दाबी गर्दै आएका छन्।

सन् १९७४ मा साउथ भियतनामसँगको संक्षिप्त युद्धयता चीनले यस क्षेत्रमाथि नियन्त्रण राख्दै आएको हो। त्यहाँ प्रशासकीय शहर खडा गरेकामा भियतनामले बारम्बार चीनको विरोध गर्दै आएको छ। सो क्षेत्रमा प्रचुर मात्रामा तेल रहेको छ।

सन् २०१३ देखि चीनले ती विवादास्पद टापुमा पर्यटन क्रुजहरू सञ्चालन गर्दै आएको हो। सान्साका मेयर सियाओ जियले यस शहरमा थप महत्वाकांक्षी योजनाहरू ल्याइने जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्