भक्तपुरमा पहिलो दिनकै ट्रायल परीक्षा रद्ध



 

पुष्कर बुढाथोकी, भक्तपुर
भक्तपुरमै पहिलोपटक आइतबारबाट सञ्चालन हुनलागेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) को प्रयोगात्मक अर्थात् ट्रायल परीक्षा तनाबका बीच रद्ध भएको छ।

यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका ९ राधे राधेस्थित ईजी वे ट्रायल सेन्टर प्रालि मा दुई पाङ्ग्रे सवारीसाधनको चालक अनुमतिपत्र (लाइसेन्स) को प्रयोगात्मक परीक्षा आइतबारबाट सञ्चालन गर्ने सम्झौता भएपछि परीक्षा दिन ३ सय १९ जना आएका थिए। कार्यालय र प्रालि बीच निःशुल्क ट्रायल सेन्टर सञ्चालन गर्न भएको लिखित सम्झौताअनुसार जिल्लामै ट्रायल परीक्षा हुने भएपछि उपत्यकाका विभिन्न ड्राइभिङ सेन्टर व्यवसायी र कार्यालयबीच विवाद भएपछि भक्तपुरमा आज हुन लागेको परीक्षा रद्ध भएको हो। यातायात व्यवस्था विभागले ट्रायल दिने परीक्षार्थीसँग प्रतिव्यक्ति रु. ५५ रुपियाँ शुल्क यामाहा मोटरसाइकलबाट ट्रायल परीक्षा दिन दिएको निर्देशनलाई विपरीत अन्य व्यवसायीले परीक्षार्थीलाई निःशुल्क नै सवारीसाधन उपलब्ध गराउने भनेपछि तनाव भएको थियो।

ड्राइभिङ सेन्टर व्यवसायी अंगदजन अधिकारीले यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले यामाहा कम्पनीसँग कमिसन खाएर त्यही कम्पनीको सवारीसाधनमा मात्रै सःशुल्क ट्रायल दिने व्यवस्था गराएको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो– ‘गत चैत्र ५ गते सकिएको टेन्डर पनि कमिसन खाएर डिजिले कोठामा बसेर सुटुक्क नवीकरण गराए, कम्पनीबाट मलेसिया घुम्न गए, अहिले पनि कमिसन खानकै लागि भक्तपुरमा निःशुल्क ट्रायल सेन्टरको सम्झौता रद्ध गराउने खोज्दै छन्। जनतालाई हामी व्यवसायीले निःशुल्क सवारीसधान उपलब्ध गराउँछौंभन्दा डीजीलाई किन आपत्ति ?’

ड्राइभिङ स्कुल संघका अध्यक्ष नकुल नेपालले नेपालीलाई अमेरिकाको भिसा लाग्नभन्दा पनि लाइसन्स लिन गाह्रो भएको टिप्पणी गर्दै विभागले कमिसनको खेलमा मनोमानी गरेको आरोप लगाउनुभयो। ड्राइभिङ स्कुल व्यवसायीहरू केशवप्रसाद आचार्य, दीपेन्द्र रेग्मी, नवीन चाम्लिङ, कृष्ण शिवाकोटीलगायतले विभागका डीजी कमिसनका लागि केही ठेकेदारको पछि लागेर जनतालाई दुःख दिइरहेको आरोप लगाउँदै यामाहाको एकाधिकार तोड्नुपर्ने भन्दै विरोध गरेका थिए।

कार्यालय प्रमुख घिमिरेले भने आफू विभागको निर्णय र निर्देशकविपरीत जान नसक्ने बताउँदै निःशुल्क सवारीसाधन उपलब्ध गराउने निर्णय आफूले गर्न नसक्ने बताउनुभयो। एक साताभित्र सवारीसाधनका बारेमा अर्को टेन्डर आह्वान भएपछि यो समस्या सुल्झने बताउँदै उहाँले तत्काललाई आफू एक्लैले निर्णय लिन नसक्ने बताउनुभयो। गतमाघ २ गते भक्तपुरको जगातीमा कार्यालय स्थापना भएपछि भक्तपुरमो ट्रायल सेन्टर नहुँदा यहाँका बासिन्दाले साताको एक पटक काठमाडौं गएर ट्रायल दिन बाध्य भएका थिए। भक्तपुर कार्यालयमा दैनिक ३ सयभन्दा बढी सेवाग्राहीले आवेदन दिने गरेपनि ट्रायल दिने स्थानको अभावले एक सातामा दुई पांग्रेको ८ सय ५० र चारपाग्रेंको २ सय ५० जनाभन्दा बढीलाई ट्रायल परीक्षामा सहभागी गराउन नसकिए पनि भक्तपुरमै हुँदा आएकाहरूलाई सहजै ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी गरेको थियो।

७ बजेबाट प्रयोगात्मक परीक्षा शुरु हुने भएपछि ५ बजेदेखि लाइन बसेका परीक्षार्थीलाई विवाद र तनावका बीच ९ बजे यहाँ हुने परीक्षा रद्ध भएको जानकारी गराउँदै यातायात व्यवस्था कार्यालय भक्तपुरले प्रमुख अनोज घिमिरेले विगतमा जस्तै काठमाडौंको मीन भवनमै परीक्षा दिन जान आग्रह गरेपछि परीक्षार्थी नाराबाजी गर्दै फर्किएका थिए।

विगतमा हँुदै आएको मीन भवनमै आजको प्रयोगात्मक परीक्षा सञ्चालन भएको उहाँले जानकारी दिनुभयो। भक्तपुर र भक्तपुर पूर्वका बासिन्दालाई षड्यन्त्रपूर्वक फेरी काठमाडौंमै ट्रायल दिन पठाउन लागिएको भन्दै उनीहरूले भक्तपुरमै ट्रायल दिन पाउनुपर्ने माग गर्दै १ घण्टा नाराबाजी गरेका थिए। ट्रायल परीक्षा दिन ५ बजेदेखि लाइनमा बसेकी काभ्रे पनौती नगरपालिका–४ की खरिबोटकी सुनीता बन्जाराले लिखित परीक्षा उत्तीर्ण गरेको २ महिनापछि ट्रायल परीक्षाको पालो आए पनि ट्रायल दिन नपाएको भन्दै आक्रोश पोख्नुभयो।

भक्तपुरमै ट्रायल सेन्टर सञ्चालन गर्नुपर्ने माग गर्दै विभागको कमिसनको खेलमा आम नागरिकलाई दुःख दिएको भन्दै परीक्षा दिन आएका भक्तपुर सूर्यविनायकका रामेश्वर कार्कीले भक्तपुरको परीक्षा भक्तपुरमै गराउन पाउनुपर्ने माग गर्नुभयो। ईजी वे ट्रायल सेन्टर प्रालिका सञ्चालक निर्भयबाबु प्रसार्इंले आम नागरिकको सुविधा र सहजताका लागि सरकारलाई आफूले निःशुल्क ट्रायल सेन्टर उपलब्ध गराएको बताउँदै ट्रायल परीक्षा दिने नागरिकलाई सवारीसाधनसमेत निःशुल्क उपलब्ध गराउन आफू तयार भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘भक्तपुरमा ट्रायल परीक्षा सञ्चालन हुन नदिन पुनः षड्यन्त्र भएको छ, यहाँका बासिन्दालाई काठमाडौंमै परीक्षा दिने षड्यन्त्रका कारण बिहान ७ बजे ट्रायल परीक्षा सञ्चालन गर्ने तयारी गरे पनि विवाद झिकेर सञ्चालन गर्न दिएनन्।’

ट्रायल शुरु हुने भएपछि विभिन्न व्यक्तिबाट कमिसन मागेर धम्की दिने गरेको र केही व्यवसायीले समेत पैसा लिने गरी सवारीसाधन उपलब्ध गराउने कम्पनीलाई प्रवेश गर्न नदिन धम्की दिएको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो– ‘विवाद गरेर भक्तपुरमा आएको सेवालाई रोक्नुहुँदैन, हामीले सरकारलाई निःशुल्क ट्रायल परीक्षा दिने ठाउँ दिएका हौं, विभागले मानेमा नागरिकलाई निःशुल्क सवारीसाधन दिन तयार छौं।’

प्रतिक्रिया दिनुहोस्