मेगा बैंक संघीय प्रणालीमा जाने



 

काठमाडौं, (नेस)
आठौं वर्षमा प्रवेश गरेको अवसरमा मेगा बैंकले संघीय संचरना अनुसार सातवटै प्रदेशमा ‘प्रदेश हेडक्वार्टर’ स्थापना गर्ने घोषणा गरेको छ। बैंकको प्रधान कार्यालयमा आयोजित कार्यक्रममा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले सो कुरा बताउनुभएको हो। उहाँले त्यसको शुरूआत प्रदेश नम्बर ५ को बुटवलबाट भइसकेको पनि जानकारी दिनुभयो।

अध्यक्ष शाहले टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर प्रक्रिया जारी रहेको बताउँदै मर्जरपछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकमध्ये पर्ने दाबी गर्नुभयो। चालू आर्थिक वर्षमा नै टुरिजमसँगको मर्जर प्रक्रिया सकिने उहाँको भनाइ छ। ‘संघीयताको कार्यान्वयनसँगै नयाँ आर्थिक सम्भावना र चुनौती देखिन थालेका छन्। त्यसैले नयाँ शहरका रूपमा विकास भइरहेका हुलाकी राजमार्ग र मध्यपहाडी राजमार्ग आसपासमा नयाँ सम्पर्क र सम्बन्ध विस्तार गर्ने हामीले योजना बनाएका छौँ,’ अध्यक्ष शाहले भन्नुभयो। त्यसका लागि बैंकले विज्ञसँगको छलफलबाट पाँच वर्षे योजना तय गरेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा बोल्दै मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले चालू आर्थिक वर्षमा २० वटा नयाँ शाखा खोल्ने जानकारी दिनुभयो। स्थानीय तहको चुनावले आर्थिक सम्भावनाका धेरै ढोका खोलेको उहाँको भनाइ थियो।सीईओ शाहले बैंकिङ क्षेत्र तरलताको अभावले गुज्रिए पनि बितेको वर्ष मेगा बैंकले राम्रो नाफा आर्जन गर्न सकेको बताउनुभयो। उहाँले आगामी वर्षदेखि बैंकको नाफा झनै बढ्ने बताउनुभयो।

सीईओ शाहले शेयरधनीलाई ६५ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको जानकारी दिँदै छिट्टै प्रतिशेयर १ सय रुपियाँका दरले २ अर्ब ९७ करोड ८५ लाख ३ हजार ४ सय ३३ रुपियाँ बराबरको २ करोड ९७ लाख ८५ हजार ३४ दशमलव ३३ कित्ता शेयर शेयरधनीलाई निष्काशन गर्न लागेको बताउनुभयो। वार्षिकोत्सवका अवसरमा मेगा बैंकले काठमाडौंको बौद्धमा सञ्चालित ‘गरिब तथा अनाथ बालिका गृह’ लाई एक लाख रुपियाँ आर्थिक सहयोग प्रदान गरेको छ।

प्रतिक्रिया दिनुहोस्