साढे ८ लाख पर्यटक नेपाल भित्रिए



 

दीपेन्द्र थापा, काठमाडौं

आर्थिक वर्ष २०७३⁄७४ मा करिब साढे आठ लाख पर्यटक नेपाल भित्रिएका छन्। अध्यागमन विभागका अनुसार गत आवमा ८ लाख ४५ हजार १ सय ४७ पर्यटकले नेपाल भ्रमण गरेका छन्। भूकम्प र नाकाबन्दीपछि सुस्ताएको नेपालको पयर्टन बजार पुनः लयमा फर्किने क्रममा रहेको छ।

गत आर्थिक वर्षमा पर्यटकको उच्च आगमनले सरकारले पर्यटक भित्र्याउने लक्ष्यको नजिक पुगेको सरोकारवाला बताउँछन्। पर्यटनविज्ञ प्रचन्डमान श्रेष्ठका अनुसार अघिल्ला दुई वर्ष नेपालको पर्यटन क्षेत्रका निम्ति निराशाजनक रह्यो तर अब विस्तारै लयमा फर्किने संकेत गरेको छ।

नेपाल समाचारपत्रसँग कुरा गर्दै श्रेष्ठले भन्नुभयो–‘हामीले प्रचारप्रसार र पर्यटकलाई सहज वातावरण दिएर सकरात्मक सन्देश प्रवाह गर्न सक्यौं भने आगामी वर्ष १० लाख पर्यटन भित्र्याउन सकिन्छ।’

पर्यटक आगमनमा वृद्धि हुँदै गएको अध्यागमन विभागका अधिकृत कृष्ण सापकोटाले बताउनुभयो। ‘हाम्रो आँकडा हेर्दा विस्तारै पर्यटक आगमनमा वृद्धि भइरहेको छ। आउँदा वर्षमा पर्यटकको संख्या थप बढ्ने आशा गर्न सकिन्छ।’ सापकोटाले भन्नुभयो।

भारतमा पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लागेपछि पछिल्ला दुई महिनायता नेपाल भ्रमणमा आउने भारतीय पर्यटकको संख्यामा कमि आएको होटल एसोसिएसन अफ नेपाल (हान) का महासचिव बिनायक शाहले बताउनुभयो। उहाँले भन्नुभयो–‘भारु नोट प्रतिबन्धको समयमा नै नेपालमा भारतीय पर्यटकको आगमन बढी हुने समय पनि हो।’ उहाँका अनुसार भारु प्रतिबन्धको प्रत्यक्ष असर होटल व्यवसाय र क्यासिनोमा समेत देखिएको छ।

अध्यागमन विभागको आंँकडा अनुसार नेपाल घुम्न आउने पर्यटकमा भारतीयको संख्या उल्लेख्य छ। आर्थिक वर्षमा भारतबाट मात्रै १ लाख ४६ हजार ४५६ जना पर्यटक नेपाल भ्रमणमा आएका छन्। चीनबाट १ लाख ७ हजार ३५९ जना पर्यटक आएका छन्।

यसैगरी अमेरिकाबाट ६२ हजार ३०४ र श्रीलंकाबाट ५८ हजार ७८७ जना र पर्यटक नेपाल भ्रमणमा आएका छन्। बेलायतबाट ५१ हजार ३४२ जना नेपाल आउँदा थाइल्यान्डबाट ३१ हजार १७८ जना सन् २०१६ मा नेपाल घुम्न आएका छन्। आर्थिक वर्षको अन्त्यतिर पर्यटनका आगमनमा वृद्धि भएको देखिन्छ।

वर्ष सन् २०१६ मा ७ लाख २९ हजार ५५० पर्यटक नेपाल भित्रिएको तथ्यांक विभागसँग रहेको छ। यो संख्या अघिल्लो वर्षको तुलनामा ३६ दशमलव ११ प्रतिशतले बढी हो। सन् २०१५ मा ५ लाख ३६ हजार पर्यटकमात्रै नेपाल भित्रिएका थिए।

सन् २०१४ मा पर्यटक आगमनको संख्या भने झन्डै ८ लाख थियो। सरकारले सन् २०२० सम्ममा २० लाख पर्यटक ल्याउने योजना सार्वजनिक गरेको छ। यो संख्यामा पर्यटन भित्र्याउन नेपाल पर्यटन बोर्डले धेरै प्रचार प्रसारमा जोड दिनुपर्ने पर्यटक व्यवसायीको सुझाव छ। आगमन बढाउनकै लागि २०१७ लाई युरोपका देशमा नेपाल घुम्ने वर्षको अभियान शुरू भइसकेको बोर्डले जनाएको छ। यसले पनि पर्यटक आगमनमा केही वृद्धि आउने आशा गर्न सकिने ठाउँ रहेको व्यवसायीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्