अझै रहस्यमयी छ एकै घरका चारको मृत्युको घटना (घटनास्थलको फोटो फिचर)



मोतीराम तिमल्सिना, काभ्रे ।  ८ वर्ष देखि बनेपामा होटल ब्यवसाय संचालन गर्दै आएको एउटा परिवारका चार जना सदस्य मृत अवस्थामा फेला परेपछि आफन्तहरुले निश्पक्ष छानविनको माग गर्दै आफन्तले आईतबार किटानी जाहेरी दिने तयारी गरेका छन् ।

साविक टुकुचा गाविस ८ हालको बनेपा नगरपालिका वडा नम्वर २ का हरिभक्त दाहालको परिवार बनेपा नगरपालिका वडा नम्बर ८ स्थित बसपार्कमा रहेको गौतम भोजनालय भित्र मृत अवस्थामा फेला परेका हुन् । पसलको सटर भित्र ६५ वर्षिय हरिभक्त दाहाल, ६० बर्षिय आमा हरिमाया दाहाल, ३२ बर्षिय छोरा राजाराम दाहाल र २५ बर्षिया छोरी रञ्जना दाहाल मृत अवस्थामा फेला परेका हुन् ।

उनिहरुको साथमा सेल्फस नामक औषधीका तीनवटा सिसी फेला परेका छन् । शुक्रबार राति ९ बजे फेला परेको मृतकहरुको शब शनिबार दिउसो ढिलासम्म उठाउन आफन्तले मानेका थिएनन् । काठमाडौबाट प्रहरीको सिआईबी टोलीले घटनाको स्थलगत अनुसन्धान गरेपछि आफन्तले मृतक राजाराम दाहालको कान्छि श्रीमती पुजा दाहाललाई नियन्त्रणमा लिन माग गरेका थिए ।

उनिहरुको माग अनुसार प्रहरीले पुजालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बनेपामा राखेपछि आफन्तले शब उठाउन तयार भएका थिए । शुक्रबार राति नै शवको पोष्टमार्टमका लागि शिर मेमोरियल लैजाने तयारी गरेपनि आफन्तका कारण रोकिएको थियो । प्रहरीले चारै जनाको शब त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिए ।
घटना के हो ?  २०७४ साउन ६ गते विहानै देखि राजाराम दाहाल फरक स्वभावमा देखिएका थिए । उनी इमान्दार ब्यक्तिका रुपमा चिनिदै आएका थिए । बनेपा ८ मा होटलमै भाँडा माझेर घर तीन तल्लाको घर निर्माण गरेका राजारामको कान्छि श्रीमती पुजा दाहालको मितको नाताको प्रहरीको सिपाही निर्मला श्रेष्ठको नाममा घर थियो । एक महिना अघि राजारामले उक्त घर निर्मलासँगको कारोवार टुङ्गयाएर श्रीमती पुजाका नाममा पास गरेका थिए । त्यस अघि गाउँमा भएको राजारामको अंश बापतको जग्गा जेठी श्रीमती कमला दाहाल, उनीबाट जन्मेका छोरा १३ बर्षका सुरज दाहालका नाममा समेत पास गरिदिने विषयमा विवाद भएको थियो ।

जेठी श्रीमती कमलाले आफुलाई झुक्याएर श्रीमान राजाराम र सौता पुजाले गाउँमा भएको अंश पनि कम दिएको र शहरमा निर्माण गरेको घर समेत नदिएको आरोप लगाउँदै आएकी थिईन् । श्रीमानले कमाएको सम्पति सबैलाई बराबर अधिकार लाग्छ भन्ने कमलाको तर्कलाई पुजाले मानेकी थिईन् । ‘मैले जुठा भाँडा माझेर कमाएको सम्पति तँलाई कसरी दिन सकिन्छ’–पुजाले कमलालाई भनेकि थिईन–‘कमलाले भने छोरा २० वर्षको भए पछि अंश लिने भन्दै अहिलेलाई जति आउँछ त्यति नै लिन तयार भएको बताएकी थिईन् ।’ जेठी कमला विवाह गर्दा २० वर्ष पुगेकी थिईन् । उनीबाट १४ वर्षकी छोरी मनिका र १३ वर्षका छोरा सुरज छन् ।
सुरजको साउन ७ गते जन्मोत्सव हो । आफ्नो जन्मोत्सवका बेला केक काटेर खुशी मनाउने अघिल्लो दिन राति मात्रै उनि अस्पतालबाट घर पुगेका थिए । जन्म दिनको खुशी भन्दा पनि उनलाई बाबु, फुपु, हजुरबुबा र हजुरआमाको घटनाले पिरोल्यो । उनिहरु गाउँबाट बनेपासम्म आउन पनि सकेनन् । कमला भने शुक्रबार राति घटना ९ बजे सुनेको भए पनि शनिबार विहान मात्र बनेपा आईन् ।

 

बुबा आमाले आफुलाई मन नपरीकन सानै उमेरमा विवाह गरिदिएको भन्दै राजारामले रामेछाप जिल्ला घर भई कामको सिलसिलामा बनेपा तिरै बस्दै आएका झम्कप्रसाद गौतमको साईली छोरीसँग विवाह गरेका थिए । घरमा कमला सुत्केरी थिईन् । २२ दिनको छोरा थियो । यता राजाराम दोश्रो श्रीमती पुजासँग सुगाहरात मनाईरहेका थिए । त्यहि दिन देखि कमला र राजारामको सम्वन्ध रहेन । राजारामले दोश्रो श्रीमती विवाह गरेको केहि समय गाउँमा गएनन् । पछि गाउँ त गए तर केहि रोजगार नभएपछि रोजगारीका लागि विदेशिए ।

विदेशबाट फर्किएपछि राजारामले ब्यवसाय गर्ने सोच बनाए । उनको कान्छि श्रीमतीबाट विवाहकै दोश्रो वर्ष लाग्दा छोरा पुजन जन्मिएको थियो । ११ बर्षिय पुजन र पुजा माईली दिदी सुस्मा भट्टराईको घर भक्तपुर काँडाघारीमा गएको बखत राजारामको परिवारले सेल्फस खाएको थियो । विदेशबाट फर्किएपछि राजारामले होटल संचालन गर्न खोजे । ससुरा झम्कप्रसादले बनेपाको बसपार्कमा २०६२ साल देखि संचालनमा ल्याएको होटल नाम समेत परिवर्तन नगरी राजारामले संचालन गर्न शुरु गरे २०६५ साल देखि । उनले पुजाको बहिनी नानुलाई सँगै राखेर पढाए । आफ्नै बहिनी रञ्जनालाई पनि पढाए । पढ्दै पसलमा सघाउ गर्दै गरेपछि राजारामले केहि पैसा पनि कमाए ।

 

त्यहि पैसाले उनले सिनागालमा घडेरी किने । पछि त्यो घडेरी विक्री गरेर अर्काे घडेरी किने र घर बनाए तर पास भने प्रहरीको सिपाही पुजाको मितिनी निर्मलाको नाममा पास गराए । जग्गा किन्ने बेला ससुराले ४ लाख ऋण दिएका दिए ससुरा झम्कप्रसादले । सामान्य झगडा भईरहने भए पनि पुजा आमा खुवाउने औशी र दशैमा बाहेक माईती जाँदैन थिईन । झम्कप्रसादको परिवार अहिले नमोबुद्ध नगरपालिकाको भकुण्डेमा घर बनाएर बस्दै आएको छ । शुक्रबार बहिनी रञ्जनाको विवाहको कुरा पनि चलेको थियो । उनिहरुको पनि घर ब्यवहारका विषयमा सामान्य भनाभन भईरहेको थियो । दिउसो रञ्जना र पुजाको बीचमा झगडा प¥यो ।

 

साँझ तिर राजारामले श्रीमती पुजा र छोरा पुजनलाई भक्तपुर पठाईदिए । आफुले आमासँग पारिवारीक सल्लाह छ भन्दै साँझ नपर्दै सटर लगाए । पसल भित्र घरका चार जना सदस्य थिए । सटर भित्रबाट तान्न नसकेपछि छिमेकी पसलेलाई अनुरोध गरे । उनले तान्न मात्रै सहयोग गरे । भित्रबाट राजारामले सटरमा ताल्चा लगाए । भाँडा माझ्न बाहिर निस्कन जाने ढोकामा समेत उनले ताल्चा लगाए । केहि बेर पछि भित्र हल्ला खल्ला भएको छिमेकी पसलका ब्यक्तिरुले सुने । पसल भित्रको सिसा फुटेर सटर बाहिर आएको देखेपछि उनिहरुले प्रहरीलाई फोन गरे । प्रहरीले तत्काल घटनास्थल हे¥यो । सटर फुटाएर भित्र पस्ने क्रममा चारै जना मृत अवस्थामा फेला परेका थिए ।

 

श्रीमती र छोरालाई घरमा नराखी बाहिर पठाउनु रहस्यमय छ । श्रीमती कहिल्यै श्रीमानसँग झगडा परे पनि कतै नजाने स्वभावको भएकाले राजारामले जर्बजस्ति उनलाई दिदीकोमा किन पठाए ? चारजना सदस्य नै कसरी विष सेवन गर्न तयार भए ? विष सेवन गर्नु पर्ने परिस्थिती कसरी सिर्जना भयो ? थुप्रै प्रश्नहरुले जेलिएको रहस्यमय घटना बन्यो चारजनाको मृत्युको प्रकरण । 

प्रतिक्रिया दिनुहोस्