कवि तथा कथाकार घनबहादुर थापाको मौन आक्रोश नामक कविता संग्रह अहिले चर्चाको विषय बनेको छ। उनको आक्रोशले भरिएको मौन विद्रोह हो यो। त्रिपन्न वटा फुटकर कविताले ठोक्नुपर्ने सबैलाई व्यङ्ग्यात्मकरुपमा ठोकिएको छ। यसभित्र कविताहरु आफैं विसंगतिको चिरफार गरिरहेका छन्। कवि थापाका कुनै–कुनै कवितामा अभिव्यक्त शब्द चित्रणले पाठकको हृदयलाई च्वास्स–च्वास्स छोइदिन सफल भएको अनुभूति हुन्छ। मौन आक्रोशमा समाहित सम्पूर्ण कवितालाई समीक्षात्मकरुपमा सरसर्ती हेर्दा विषयक्रमअनुसार तिनलाई देशप्रेम, आत्मक्रन्दन, विरोधाभास, सामाजिक सचेतना, युद्ध, प्रकृति र मानवताको सेरोफेरोमा घुमेको देखिन्छ। ठाउँ–ठाउँमा नैराश्यताले पनि कविहृदयलाई उद्वेलित बनाएको छ। तथापि घनबहादुर थापालाई स्वाभिमान र दृढ आत्मविश्वासले छाडेको छैन।
कुनै–कुनै कवितामा संगीतमय तरङ्ग पनि सिर्जिएको छ। यस कृतिमा अहंकारविरुद्ध गर्जेका छन् उनी। देशमा भएको हत्या, हिंसा, अराजकता, राजनीतिक विकृति अनि भ्रष्टाचारले सीमा नाघेका बेला उनी पनि हिमाल र फूलको सौन्दर्य अनि प्रेमका भावनामा बग्न नसकेको प्रस्ट झल्किन्छ। रोम जलिरहेका बेला दरबारको पटाङ्गिनीमा उक्लेर बाँसुरी बजाउने सम्राट निरोको विम्ब कविताहरुमा खूब प्रयोग हुने गरेको छ।
पछिल्लो पुस्ताका युवाकवि थापाले यथार्थलाई आफ्नै पाराले अक्रोश पोखेका छन्। उनले विसंगतिको मौन आक्रोशमा विरोध गरेका छन्। उनका रचनामा उनको स्वभाव झल्किएको छ। उनले आफूलाई शान्तिको गीत रचना गर्ने मान्छे भनेर चिनाएका छन्। विनाशको बीउ नखोज र जछर भन्दै सज्जनता प्रदर्शनका लागि कविताहरुले सबैलाई आह्वान गरेका छन्। सगरमाथाको यथार्थ, संयुक्त राष्ट्रसंघ र नेपालको कुरा पनि साहित्यिक पाराले मौन आक्रोशमा समावेश गर्ने प्रयत्न भएको छ।
वीर पुर्खाको वीरताको गाथासमेत कवितामा कविले भावनामार्फत पोखेका छन्। अहंकारको विरुद्धमा कवि गर्जेको पाइन्छ। दुव्र्यसनको खुलेरै भत्र्सना भएको छ। उनका कवितामा नवीनतम सन्देशको ओइरो छ।