एचआईभी संक्रमण रोक्न गाई सहयोगी हुनेः शोध



 

लस एन्जलस, (एजेन्सी)
अमेरिकी अनुसन्धानकर्ताहरूले एचआईभी संक्रमणसँग लड्नका लागि खोप विकास गर्न गाई सहयोगी प्रमाणित हुन सक्ने बताएका छन्।

प्रतिरक्षाका लागि यो जनावरले एक प्रकारको विशेष एन्टिबडिज निर्माण गर्छ जसको माध्यमबाट एचआईभीलाई अन्त्य गर्न सक्छ।

जटिल तथा ब्याक्टेरियायुक्त पाचन तन्त्रका कारण गाईमा प्रतिरक्षाको क्षमता धेरै विकसित हुने गरेको मानिन्छ। अमेरिकाको नेसलन इन्स्टिच्युट्स अफ हेल्थले यो नयाँ जानकारीलाई अत्यन्त राम्रो र उत्साहप्रद भएको जनाएको छ।

एचआईभी मानव शरीरका लागि घातक प्रतिद्वन्द्वी हो र यो जीवाणुले आफ्नो स्वरूप अत्यन्त छिटो बदल्न सक्छ र बिरामीको प्रतिरक्षा प्रणालीलाई आक्रमण गर्ने मार्ग बनाउँछ। एचआईभीले आफ्नो स्थितिलाई पनि परिवर्तन गरिरहेको हुन्छ।

सम्भावित खोपले रोगीको रोग प्रतिरोधात्मक प्रणालीलाई विकसित गर्न सक्छ र मान्छेलाई संक्रमणको पहिलो स्टेजबाटै बचाउन सक्छ।

इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ र द स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाईको प्रतिरक्षा क्षमतालाई लिएर परीक्षण थालेका थिए। ‘यसको नतिजाले हामीलाई अचम्मित तुल्याएको छ’ एक शोधकर्ता डाक्टर डेभिन सोकले बताए। गाईको प्रतिरक्षा तन्त्रमा आवश्यक एन्टिबडिज बन्न कयौं हप्ता लाग्छ। उनले भने– ‘यो अत्यन्त महत्त्वपूर्ण हो, किनभने यसअघि यो त्यति सहज भइरहेको थिएन। एचआईभीको उपचारमा गाईको योगदान हुन्छ भन्ने कसलाई थाहा थियो।’

नेचर नामको जर्नलमा प्रकाशित लेख सामग्रीमा गाईको एन्टिबडिजबाट एचआईभीको असर ४२ दिनमा २० प्रतिशत समाप्त पार्न सकिने उल्लेख गरेको छ। प्रयोगशालाको परीक्षणबाट ३ सय ८१ दिनमा यो एन्टिबडिजले ९६ प्रतिशतसम्म एचआईभीलाई निरस्त पार्न सक्ने पत्ता लागेको छ। अध्ययनबाट प्राप्त जानकारी अत्यन्त राम्रो र उत्साहप्रद भएको शोध कर्ता डाक्टर डेनिस बर्टनले बताए।

उनले भने– ‘मानवको तुलनामा जनावरको एन्टिबडिज धेरै अनुपम हुन्छ र एचआईभीलाई अन्त्य गर्ने क्षमता राख्छ।’

प्रतिक्रिया दिनुहोस्