रकम अपचलनको आरोपमा सचिव पक्राउ



 

सञ्जय कार्की, रौतहट
बालपोषण भत्ता कार्यक्रमको रकम अपचलन गरेको आरोपमा रौतहटमा एक सचिव पक्राउ परेका छन्। दलित⁄बालपोषण बालबालिका संरक्षण अनुदानको रकम हिनामिना गरेको आरोपमा ईशनाथ गाउँपालिका–४ मठियाको सचिव राजदेव रामलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो।

सचिव रामले गाउँका पाँच सयभन्दा बढी बालबालिकाको नामको रकम हिनाहिना गरेको आरोप रहेको छ। सरकारले रौतहटलाई अति कुपोषित जिल्लाको सूचीमा राखेको छ। यो सूचीमा रहेको जिल्लामा बाल पोषण भत्ता कार्यक्रम लागू भएको छ। यस कार्यक्रमअन्तर्गत प्रत्येक दलित परिवारको ५ वर्षमुनिका दुई जना बालबालिकालाई प्रति महिना ४ सयका दरले उक्त रकम उपलब्ध गराउनुपर्ने भए पनि सचिव रामले लक्षित समूहको रकम हिनामिना गरेको आरोप रहेको छ।

सरकारले गत माघ महिनादेखि रकम उपलब्ध गराउने निर्णय गरेपछि सम्बन्धित गाविसका सचिवले ५ वर्षमुनिका बालबालिकाहरूको तथ्यांक संकलन गरी पठाएको रिपोर्टका आधारमा रकम निकासा भएको हो। वडासचिव राजदेव रामले माघदेखि असारसम्मको भर्पाई बनाएर चैतदेखि असारसम्मको १ हजार ६ सय दिएको आरोप पीडित पक्षको रहेको छ।

सचिव रामले माघ र फागुनको भर्पाई लुकाएर अभिभावकसँग ल्याप्चे हस्ताक्षर गराएर दुई महिनाको रकम अनियमितता गरेको आरोप अभिभावक रामनरेश कुशवाहाले लगाउनुभयो। नेपाल सरकारले अति कुपोषित जिल्लाको रूपमा रहेको अछाम, बाजुरा र रौतहटमा बाल पोषण कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि रकम विनियोजन गरेर प्रभावकारी बनाउन खोजिए पनि गाविस सचिवले रकम वितरणमा अनियमितता गर्न लागेको पाइएको छ।

बालबालिकाको पोषणको रकम लिन अस्मिता कुमारी र सुस्मिता कुमारीको अभिभावले हस्ताक्षर गर्ने क्रममा सचिवले रकम हिनामिना गरेको खुलेको हो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले स्थानीयको उजुरीको आधारमा सचिव पक्राउ गरिएको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्