कन्सर्टमा प्रेमगीत–२



 

प्रेमगीत–२ नामक फिल्मले प्रचारप्रसारका लागि संगीतको साहारा लिँदै विभिन्न स्थानमा कन्सर्ट प्रस्तुत गरेको छ। यस क्रममा प्रेमगीत–२ का कलाकारहरुको सभागितामा बिर्तामोड, चितवन, पोखरा, बुटवल, हेटौंडा, विराटनगर, दमक, धरान, इटहरीलगायत दर्जन बढी शहरमा कन्सर्ट गरिएको छ। मोफसल यात्रापछि प्रेमगीत–२ ले उपत्यकामा पनि कन्सर्ट गर्ने निर्माण संस्थाले जनाएको छ।

निर्माता सन्तोष सेनका अनुसार शुक्रबार र शनिबार उपत्यकाको विभिन्न स्थानमा कन्सर्ट हुनेछ। शीर्ष भूमिकामा अभिनय गरेका कलाकारसहित कन्सर्टमा गर्न लागिएको हो। युनिटले शुक्रबार ललितपुरको लगनखेल बसपार्क, भक्तपुरको बसपार्क क्षेत्र र शनिबार गोंगबुको बिजिमहल र चन्द्रागिरी क्षेत्रमा कन्सर्ट गर्न लागेको सेनले बताए।

‘कलाकार र दर्शकबीचको सम्बन्ध प्रगाढ बनाउन कन्सर्ट गरिरहका छौं’, निर्माता सेन भन्छन्– ‘दर्शकलाई फिल्मकै कलाकारका साथ सांगीतिक मनोरञ्जन दिनु कन्सर्टको मुख्य उद्देश्य हो।’ प्रेमगीतको सफलतापछि त्यसको सिक्वेलस्वरूप प्रेमगीत–२ निर्माण गरिएको हो। आगामी १३ गते अलनेपाल रिलिज हुने फिल्ममा प्रदीप खड्का, अश्लेषा ठकुरी र निर्माता सेनको मुख्य भूमिकामा छन्। अश्लेषाको यो डेब्यु फिल्म हो। डेब्यु फिल्म भए पनि आफूले राम्रो काम गरेको उनले दाबी गरेकी छिन्। प्रेमकथामा बनेको फिल्म रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्म नेपाल, वर्मा र थाइल्यान्डमा खिचिएको छ।

प्रतिक्रिया दिनुहोस्