डस्टबिन भरियो, कहिले फाल्ने ?



 

नेपाल समाचारपत्र, बाँके
नेपालगन्ज उपमहानगरपालिकाले फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्नका लागि टोल–टोलमा डस्टबिन राख्न शुरू गरेको छ। बजारमा दुई हजार डस्टबिन राख्ने अभियानअन्तर्गत केही ठाउँमा डस्टबिन राखिसकेको उपमहानगरपालिकाको सरसफाइ शाखाले जनाएको छ। ‘आवश्यकता भएका ठाउँमा डस्टबिन राख्न शुरू गरेका छौं’ –सरसफाई शाखाका प्रमुख अशोक केसीले भन्नुभयो।

घर–पसलबाट निस्किने फोहोरलाई स्थानीयले एकै ठाउँमा जम्मा गरेर नराख्ने र नगरपालिकाले पनि धेरै ठाउँमा उही दिन फोहोर उठाउन नभ्याउने कारणले नेपालगन्ज शहरलाई फोहोरको उपमा दिने गरेको पाइन्छ।

उही दिन व्यवस्थापन हुन नसकेको फोहोरलाई छाडा पशु र कुकुरले यत्रतत्र छर्दा दुर्गन्ध हुने गरेको छ।स्थानीयका अनुसार, डस्टबिन राखेका ठाउँमा नगरपालिकाले दुई दिनमा पनि फोहोर उठाएको छैन। त्रिभुवनचोकदेखि विजय गेस्टहाउस हुँदै महेन्द्रपार्क जाने गल्लीमा राखिएको एउटा डस्टबिन भरिएर फोहोर यत्रतत्र छरिएको छ। ‘डस्टबिन राखेको दुई दिन भयो, फोहोरले डस्टबिन भरियो, खै नगरपालिका उठाउन आएको छैन’, स्थानीयहरू बताउँछन्– ‘डस्टबिन भरिनेबित्तिकै उठाइदिए राम्रै हुन्थ्यो।’
सरसफाइ शाखाका प्रमुख केसीले डस्टबिनमा जम्मा गरिएको फोहोरलाई सकेसम्म उही दिन र नसके भोलिपल्ट फालिने बताउनुभयो। ‘साधन स्रोतमा गडबडी भएन भने डस्टबिनको फोहोर उही दिन उठ्छ, नत्र भोलिपल्ट त उठाउँछौं–उठाउँछौं’ –केसीले भन्नुभयो।

सरकारले स्थानीय तहको उत्कृष्टता जाँच्ने न्यूनतम शर्त मापन (एमसीपीएम) मा नेपालगन्ज नगरपालिका सधैंजसो पछाडि नै परेको तथ्यांकले देखाउँछ। देशकै पुरानोमध्येको नेपालगन्ज नगरपालिका सधैं पछाडि पर्नुमा फोहोर व्यवस्थापन एक नम्बरमा आउने गरेको छ। चुनावका बेला आएका नेताहरूसमक्ष नगरवासीको पहिलो माग भनेको सफा र डुबानरहित नेपालगन्ज नै थियो। नवनिर्वाचित मेयर डा. धवल शमशेर राणाले पनि फोहोर व्यवस्थापनलाई प्राथमिकता दिएर अघि बढेका छन्।

प्रतिक्रिया दिनुहोस्