कार्यपालिका सदस्य चयन, जसको शक्ति, उसको भक्ति



 

नेपाल समाचारपत्र
बाँके
स्थानीय निकायको कार्यपालिका सदस्य चयनमा पार्टीहरूले शक्ति प्रदर्शन गरेका छन्। जिल्ला समन्वय समितिबाहेक आठ तहको कार्यपालिका सदस्य चयनमा पार्टीहरूले ‘जसको शक्ति, उसको भक्ति’ को सूत्र प्रयोग गरेका हुन्।

ठूलो पार्टी बनेको एमालेलाई सिध्याउन अरू पार्टीले गठबन्धन गरेका छन्। एमालेले पनि आफ्नो बहुमत भएका ठाउँमा अरूलाई छिर्न दिएको छैन। बुधबार कोहलपुर नगरपालिकाको कार्यपालिका सदस्यको चुनावमा एमालेले आठका आठ सदस्य निर्वाचित गर्यो। १५ वडामध्ये एमालेले त्यहाँ मेयरसहित सात वडा जितेको थियो। उपमेयरसहित सात वडा कांग्रेस र एक वडा माओवादी केन्द्रले जितेको थियो।

कार्यपालिका सदस्य चयनका लागि भएको मतदानमा एमालेविरुद्ध कांग्रेस र माओवादी केन्द्र मिलेका थिए। ७७ मत रहेको कोहलपुर नगरमा एमालेको पक्षमा ४० र कांग्रेस, माओवादी गठनबन्धनमा ३७ मत परेको थियो। निर्वाचनपछि नगरको २५ सदस्यीय बोर्डमा एमालेका १७ जना भएका छन्। निर्वाचित वडा सदस्यहरूमध्येबाट कल्पना अधिकारी, नारायणी वली, गीता सुनार, लीला पाण्डे र शान्ति सुनार कार्यपालिकाको सदस्यमा निर्वाचित भएका छन्। दलित तथा अल्पसंख्यकमा दिलबहादुर परियार, भीम सार्की र दयाराम लोहार निर्वाचित भएको एमालेका जिल्ला अध्यक्ष अशोक कोइरालाले जानकारी दिनुभयो।

बाँकेका आठ तहमध्ये एमालेले चार तह जितेको थियो। कोहलपुर नगरपालिका, खजुरा, बैजनाथ र जानकी गाउँपालिका जितेको एमालेले त्यहाँको कार्यपालिका सदस्यमा पनि बहुमत पुर्याएको छ। बैजनाथ र खजुरामा एकलौटी जितेको एमालेले जानकीमा बहुमत पुर्याएको छ।

नेपालगन्ज उपमहा–नगरपालिका, राप्तीसोनारी र नरैनापुर गाउँपालिका कार्यपालिका सदस्यमा एमाले ‘नील’ भएको छ। नेपालगन्ज उपमहानगरपालिकाको २३ मध्ये ६ वटा वडाध्यक्ष जिते पनि एमाले कार्यपालिका सदस्यमा जिरो भएको छ। कांग्रेस, राप्रपा, माओवादी केन्द्र र संघीय समाजवादी फोरमले गठबन्धन गरेपछि एमाले एक्लिएको हो। नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा पनि एमालेलाई पाखा लगाइएको छ।

अब जिल्ला समन्वय समिति गठन गर्न बाँकी रहेको छ। जिल्ला समन्वय समितिमा पनि एमालेलाई एक्ल्याउने सहमति भइसकेको नेताहरूले बताएका छन्। जिल्ला समन्वय समिति गठनका लागि एमाले बहुमत नजिक रहेको छ। त्यसका लागि संघीय समाजवादी फोरमसँग एमालेले लिखित सहमति गरेको थियो। फोरमले त्यसलाई उल्ट्याएको छ। एमालेसँग मिल्दा जिल्ला समन्वय समितिको उपप्रमुख पाउने सहमति गरेको फोरमलाई कांग्रेस, माओवादी केन्द्र र राप्रपाले प्रमुख नै दिने गरी सहमति गरेपछि एमाले एक्लिने सम्भावना बढेर गएको हो। एमालेबाहेकको चार पार्टीका बीचमा नेपालगन्ज उपमहानगरपालिका र जिल्ला समन्वय समिति गठनमा सहमति भएको बुझिएको छ। जस अनुसार नेपालगन्ज उपमहानगरपालिकामा निर्वाचन भइसकेको छ।

बाँकेका आठ तहमध्ये चारमा एमाले र बाँकी रहेको चारमा दुई कांगे्रस, एक⁄एकमा फोरम र राप्रपा विजयी भएका छन्। ४४ जना केन्द्रीय सदस्य भएको माओवादी केन्द्र बाँकेमा नील भएको छ। बाँकेका जनताले चुनावैपिच्छे कुनै दललाई खुसी र कोहीलाई दुःखी गराउने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्