रातारात एलडीओ भागे सीडीओ कार्यकक्षको टेबुल तोडफोड



 

नन्दराम जैसी, जुम्ला
जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी हरिनारायण बेल्वासेले काम गरेको भुक्तानी नदिई रातारात भागेको भन्दै गोठीचौर गाउँपालिकाका उपभोक्ताले जिल्ला प्रशासन कार्यालय जुम्लामा तोडफोड गरेका छन्।

जनताले गरेको विकासलाई लत्याउँदै भुक्तानी नदिई एलडीओ भागे पनि प्रशासन कार्यालय मूकदर्शक भएको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाको कार्यकक्षमा रहेको टेबुल तोडफोड गरेका हुन्। प्रमुख जिल्ला अधिकारी सापकोटा, प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्ले र स्थानीय विकास अधिकारी बेल्वासेको मिलोमतोमा उपभोक्तालाई भुक्तानी नदिइएको उनीहरूले आरोप लगाएका छन्।

छेडादह सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष अर्जुन महताराले समुदायले कार्य सम्पादन गरेको प्राविधिक प्रतिवेदन स्थानीय विकास अधिकारीको कक्षमा पुग्दा समेत वास्ता नगरी एका एक भागेको भन्दै तत्काल फिर्ता बोलाएर कामको ज्याला उपलब्ध गराउन माग गर्नुभयो। कुल ८ लाख रुपियाँमा बन्न लागेको सडक निर्माण कार्यको ५ लाख रुपियाँ मात्रै भुक्तानी गरेर एलडीओ भागेको बताइएको छ।

तत्काल एलडीओ बोलाएर भुक्तानी दिने वातावरण नमिलाए प्रशासनविरुद्ध आन्दोलन गर्ने स्थानीयले चेतावनी दिइएका छन्। यस्तै चोत्रा रामी दोहा हुँदै मौरे सडकको निर्माणको २४ लाख ६० हजार रुपियाँ सम्झौता भएकोमा १८ लाख रुपियाँ भुक्तानी दिएर उम्किएको भन्दै कामअनुसारको रकम उपलब्ध गराउन कन्ज्जुस्याइँ गरेकोप्रति आपत्ति प्रकट गरिएको छ।

स्थानीय विकास अधिकारी बेल्वासलेलाई प्रहरी नायब उपरीक्षक काफ्लेले स्कटिङ गरेर लगेको आरोप जुम्लाबासीको छ। सोमबार राति एलडीयो भागेपछि उहाँसँग कुनै सम्पर्क हुन सकेको छैन। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले जनताले काम गरेको रकम उपलब्ध हुने गरी स्रोत खोजेर संबोधन गर्न प्राविधिक कार्यालयका प्रमुख राजकुमार गोहितलाई निर्देशन दिनुभएको छ।

प्रमुख जिल्ला अधिकारी सापकोटाले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भएकाले आफूले बोल्न नमिल्नेसमेत बताउनुभयो। एलडीओ कहिले कसरी गएको भन्नेबारे आफूलाई कुनै जानकारी नभएको उहाँको भनाइ छ। स्थानीय विकास अधिकारी बेल्वासेमाथि आर्थिक लाभ उठाउन मनपरीरूपमा कोटेसन बाँडेको, उपभोक्ता समितिबाट कमिसन लिएको र बार्गेनिङका आधारमा योजनाको भुक्तानी दिने गरेको आरोप लागेको छ। एलडीओ रातारात भाग्दा प्रमुख जिल्ला अधिकारी मूकदर्शक भएको भन्दै असारे विकासको रकम कुम्ल्याउन सबैको मिलोमतो रहेको आशंका स्थानीयले गरेका छन्।

प्रतिक्रिया दिनुहोस्