संसद्मै स्तनपान गराउने सिनेटरद्वारा राजीनामा



 

सिडनी, (एजेन्सी)
संसद् भवनभित्रै बच्चालाई स्तनपान गराएर इतिहास रचेकी लारिस्सा वाटर्स नामक अस्ट्रेलियाली सिनेटरले आफ्नो दोहोरो नागरिकताको पोल खुलेका कारण सिनेटर पदबाट मंगलबार राजीनामा दिएकी छिन्। ग्रिन्स पार्टीका सदस्य रहेकी उनी क्यानडामा जन्मेकी थिइन्।

अस्ट्रेलियाको संविधानअनुसार दुईवटा नागरिकता बोकेका कोही पनि व्यक्ति संघीय कार्यालयमा पद धारण गरेर बस्न मिल्दैन। शुक्रबार अर्का ग्रिन्स सिनेटर स्कोट लुड्लामले पनि दोहोरो नागरिकताकै विषयलाई लिएर राजीनामा दिएका थिए। यिनीहरू दुवै पार्टीका उपनेतासरहका हुन्।

गत मे महिनामा अस्ट्रेलियाको संघीय संसद्मा स्तनपान गराउने पहिलो राजनीतिज्ञ बनेर वाटर्सले अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण गर्न सफल भएकी थिइन्। वाटर्सले भने लुड्लामको घटना बाहिरिएपछि मात्र आफ्नो पनि दोहोरो नागरिकता रहेको होस आएको बताएकी छिन्।

लुड्लामले पनि हालै मात्र आफू न्युजिल्यान्डको पनि नागरिक भएको चाल पाएका थिए। हिजो संसद्मा आयोजित पत्रकार सम्मेलनमा रुँदै वाटर्सले आफ्नो गल्तीलाई ‘इमानदा त्रुटि’को संज्ञा दिएकी थिइन्। उनले भनिन्– ‘क्यानडाको सत्तरी वर्ष पुरानो कानुनअनुसार क्यानडामा जन्मेकै हिसाबले म त्यहाँको पनि नागरिक भएकी रहेछ।’

‘तर म जन्मेको एक हप्तापछि नै परिवर्तन भएको कानुनअनुसार मैले क्यानडाको नागरिकता त्याग्नु पर्दो रहेछ।’ –हाल चालीस वर्षीया वाटर्सले एघार महिनाको उमेरमा आफ्नी अस्ट्रेलियाली अभिभावकसँग क्यानडा छोडेकी थिइन्। सन् २०११ मा पहिलो पटक सिनेटरमा निर्वाचित भएकी वाटर्सले आफ्नो गल्तीको पूर्ण जिम्मेवारी लिएकी छिन्।

तर अहिलेसम्म उनी र लुड्लामले खाएको सिनेटको भत्ता र तलब तिनुपर्छ वा पर्दैन भन्ने स्पष्ट भएको छैन। ग्रिन्सका नेता रिचर्ड डि नाटालेले अस्ट्रेलियाका लागि थुप्रै योगदान दिएकी वाटर्सले राजीनामा दिएको कारण आफू निकै दुःखित भएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्