खोजी मिस लिटिल आइडलको



 

एक्सन इन्टरटेनमेन्ट र प्याब्सन काठमाडौंको संयुक्त आयोजनामा मिस लिटिल आइडल २०१७ को खोजी शुरु गरिएको छ। प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत देशभरका ८ देखि १३ वर्ष उमेर समूहका बालिका सहभागी हुन पाउने छन्।

२०७२ साल वैशाखको विनाशकारी भूकम्प र त्यसको पीडा कम हुन नपाउँदै भोग्नुपरेको नाकाबन्दीले बालबालिकाको नियमित अध्ययनमा पारेको नकारात्मक प्रभाव हटाउन, गुणस्तरीय अध्ययनका साथै उनीहरुलाई सिर्जनात्मक काममा प्रेरित गर्न प्याब्सन काठमाडौं र एक्सन इन्टरटेनमेन्टले गत वर्षदेखि संयुक्तरूपमा यो प्रतियोगीता आयोजना गर्न थालेको हो। प्रतियोगितामा सहभागी विद्यार्थीको व्यक्तित्व विकास, क्षमता अभिवृद्धि, लुकेको प्रतिभा प्रस्फुटन एवं अतिरिक्त क्रियाकलापमा सुधारलगायत धेरै कुरा प्रभावकारी भएकाले मिस लिटिल आइडललाई निरन्तरता दिइएको प्याब्सन काठमाडौंका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताए।

प्रतियोगिताका शीर्ष उपाधि विजेतालाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको छात्रवृत्ति, फस्ट रनर्सअप एवं सकेन्ड रनर्सअपलाई नगद पुरस्कार एवं ताजसहित प्याब्सनको संयोजनमा सम्बन्धित विद्यालयसँग समन्वय गरी मासिक शुल्कमा एक वर्षको ५० प्रतिसत छात्रवृत्ति प्रदान गरिने आयोजकले जानकारी गराए। पत्रकार सम्मेलनमा प्याब्सन काठमाडौंकी सहसचिव एवं मिस लिटिल आइडल २०१७ की संयोजक रीता राई (दाहाल) ले प्रतियोगिता उपलब्धिमूलक एवं सहभागीहरुमा सकारात्मक परिवर्तन देखिएकाले निरन्तरता दिइएको बताइन्। पत्रकार सम्मेलनमा कोरियोग्राफर रोजिन शाक्यले प्रतियोगी बालिकाका लागि लाभदायक हुने बताए। ८औं संस्करणको प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा आगामी भदौ १० गते नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्