मोडल हन्टमा ७० जनाको स्पर्धा



 

मोडल हन्ट नेपाल २०१७ सौन्दर्य प्रतियोगितामा ७० जना प्रतियोगी छानिएका छन्। राजधानीमा आयोजित पहिलो र दोस्रो चरणको अडिसनबाट यी प्रतियोगी छानिएका हुन्।

प्रशिक्षित एवं दक्ष मोडल उत्पादन गरी उनीहरुको व्यावसायिक करियर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको आयोजकले जनाएका छन्। प्रारम्भिक चरणको अडिसनबाट छानिएका प्रतियोगीहरु अब अन्तिम स्पर्धाका लागि नियमित प्रशिक्षणमा जुट्ने नेक्स्ट मोडल्स नेपालले जनाएको छ। प्रतियोगीले अन्तिम स्पर्धामा र्याम्प, व्यक्तित्व विकास, सञ्चार कला, फोटोसेसन, स्टेज पर्फमेन्स, पब्लिक स्पिकिङलगायत विषयमा प्रशिक्षण प्राप्त गर्नेछन्। प्रतियोगीमा भारतीय कोरियोग्राफर मिलन एचआर राईले विशेष प्रशिक्षण दिनेछन् भने रोजिन शाक्यको कोरियोग्राफी रहनेछ।

प्रतियोगिताको विजेताले नगद रु. १ लाख, अमेरिकामा आयोजना हुने वल्र्ड फेसन परेडदेखि कोरियामा हुने फेसन वल्र्डसम्ममा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनुका साथै म्युजिक भिडियो र विज्ञापन फिल्ममा अभिनय अवसर प्राप्त गर्न सक्न आयोजकको दाबी छ।

प्रतिक्रिया दिनुहोस्